२४ जेठ, सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको जिल्ला अधिवेशन प्रक्रियागत काम पूरा नभएको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जनाएको छ ।
हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा आइतबार आयोजना गरिएको अधिवेशनमा जिल्लाभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी भएका थिए । तर अपराह्न करिब पौने ४ बजे निर्वाचन समितिले सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।
जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोले मतदाता नामावली, पालिका अधिवेशनसम्बन्धी कागजात तथा निर्वाचित प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्य पूरा नभएकाले निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको बताए ।
‘पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण छन् । निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्ट हुन बाँकी छ भने स्वीकृत कार्यविधिअनुसार कतिपय प्रक्रियामा प्राविधिक त्रुटि पनि देखिएको छ,’ उनले भने, ‘यी कारणले तत्काल निर्वाचन प्रक्रिया सञ्चालन गर्न सम्भव भएन ।
उनका अनुसार प्रदेश अधिवेशन जेठ २८ गतेका लागि तय भएकाले त्यसअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।
काठमाण्डौ ।


