विरेन्द्र बाग: कंचनपुर,फागुन १२। कञ्चनपुरका संयुक्त युवा विद्यार्थीहरूले फागुन १२ गतेदेखि महेन्द्रनगर खुला मञ्चमा सुरु हुन लागेको “कञ्चनपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव” मा भारतीय मन्त्री सतपाल महाराजलाई आयोजकले विशिष्ट अतिथीकोे रुपमा निमन्त्रणा गरेका छन्।

हालै भारतको केआईआईटी युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको दुःखद निधन प्रति दुःख व्यक्त गर्दै, महाराजलाई कार्यक्रमबाट हटाइएन भने कार्यक्रम बहिष्कार गर्ने संयुक्त विधार्थी सङ्गठन कंचनपुरले आयोजकलाई एक विज्ञप्ति निकाल्दै चेतावनी दिएका छन्।

विद्यार्थीहरूका अनुसार सतपाल महाराज पटक–पटक नेपाल र नेपालीको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानमाथि आघात पुग्ने अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन्। यसअघि २०८० साल असोज १९ र २० गते सुनसरीको इटहरीमा तय गरिएको उनको कार्यक्रम तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा स्थगित गरिएको थियो।
विद्यार्थीहरूले यस्ता विवादित व्यक्तिलाई नेपालका औद्योगिक तथा व्यापारिक कार्यक्रमहरूमा निम्त्याउनु आपत्तिजनक रहेको बताएका छन्। उनीहरूले उद्योग वाणिज्य संघलाई सचेत रहन आग्रह गर्दै, यदि सतपाल महाराजलाई कार्यक्रमबाट हटाइएन भने कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका छन्।
त्यस्तै, विद्यार्थीहरूले हालै भारतको केआईआईटी युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको दुःखद निधन प्रति दुःख व्यक्त गर्दै, विश्वविद्यालय प्रशासनले नेपाल र नेपाली विद्यार्थीहरूप्रति गरेको व्यवहारप्रति घोर भ्रसना समेत प्रकट गरेका छन्।
विद्यार्थीहरूले नेपालमा शैक्षिक विकृति, सामाजिक न्याय, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै, यस्ता राष्ट्रहितविरोधी क्रियाकलापप्रति सजग रहन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह समेत गरेका छन्।

