विरेन्द्र बाग:कंचनपुर, फागुन १२। कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा सोमबार देखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०८१ सुरु भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन १२ देखी फागुन २१ गते १० दिनसम्म सञ्चालन हुने यो महोत्सवको मुख्य नारा ‘कृषि, उत्पादन र स्वरोजगार: आर्थिक समृद्धिको आधार’ रहेको छ । सुदूरपश्चिमका विभिन्न समुदायका सांस्कृतिक झाँकीसहित शुभारम्भ गरिएको उद्घाटन समारोहमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भारतको उत्तराखण्ड प्रदेशका संस्कृति, पर्यटन मन्त्री सतपाल सिंह रावत (सतपालजी महाराज)लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले जानकारी दिनु भएको छ।
जोशीका अनुसार, महोत्सवले स्थानीय उत्पादन र सेवाको बजारीकरण गर्ने उद्देश्य राखेको छ । महोत्सवबाट लगानीको अवसर सिर्जना गर्न तथा सहकारी, लघुवित्त, बैङ्किङ क्षेत्रका सेवा तथा सुविधाहरूको प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिइएको जानकारी दिनु भएको छ
महोत्सवमा १० दिनको अवधिमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ । महोत्सवका स्टलहरूमा लघु उद्योग, कृषि, गार्मेन्ट, वैकल्पिक ऊर्जा, पर्यटन प्रवर्द्धन, उपभोग्य सामग्री, कृषि औजार, सूचना प्रविधि, विद्युतीय सामग्री, शिक्षा, स्वास्थ्य सेवा लगायतका उत्पादन तथा सेवाहरू प्रदर्शनमा राखिएका छन्। बालबालिकाका लागि बाल उद्यान र विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएको छ ।

