कञ्चनपुर/ सन्तोष धानुक: सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पसका सम्पूर्ण विद्यार्थीहरूले आयोजना गरेको होली कार्यक्रम २०८१ बाट संकलित केही रकम कञ्चनपुरस्थित बाल अनाथालयलाई हस्तान्तरण गरिएको छ। अखिल क्रान्तिकारीका विद्यार्थी नेता हेमराज अवस्थीले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार अनाथालयको अक्षय कोष तथा बालबालिकाहरूको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगद रु ४,००० र फलफूल वितरण गरिएको छ। “यस्तो सहयोगले समाजसेवाको भावना जागृत गर्ने विश्वास लिएका छौं,” अवस्थीले भने।
अनाथालयका लेखा प्रमुखले पछिल्लो समय युवा पुस्ता कुलत, दुर्व्यसन र विकृतितर्फ आकर्षित भइरहेका अवस्थामा विद्यार्थीहरूद्वारा गरिएको समाजसेवी कार्य उदाहरणीय रहेको बताए। उनले शिक्षित व्यक्तिहरूले समाज र राष्ट्रको लागि प्रेरणादायी काम गर्नुपर्ने धारणा व्यक्त गरे।
स्थानीयहरूका अनुसार यस्ता समाजसेवी कार्यहरूले अन्य व्यक्तिहरूलाई पनि सहयोग र सद्भावनातर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।प्रत्येक व्यक्तिमा सहयोगी भावना र सकारात्मक सोच रह्यो भने कोही अनाथ भएको महसुस गर्नु पर्दैन। पूजा गर्ने हातभन्दा सहयोग गर्ने हात पवित्र हुन्छ।

