विरेन्द्र बाग: कंचनपुर, चैत्र १८।सत्तारुढ नेकपा एमालेले राजावादीहरूद्वारा काठमाडौँमा गरिएको हिंसात्मक गतिविधिको विरोध गर्दै गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गरेको छ। पार्टीले देशभरका कार्यकर्तालाई सचेत गराउँदै विभिन्न जिल्लामा प्रदर्शनको आयोजना गरेको हो।
यसै क्रममा कञ्चनपुर जिल्लामा पनि एमालेका नेता तथा कार्यकर्ताले सदरमुकाम भीमदत्तनगरमा मोटरसाइकल ¥याली प्रदर्शन गरेका छन्। ¥यालीमा जिल्लाका सबै क्षेत्रका नेता, कार्यकर्ता, तथा समर्थकहरूको व्यापक उपस्थिति थियो। उनीहरूले लोकतन्त्र र गणतन्त्रको समर्थनमा नारा लगाएका थिए।
राजावादी समूहले हालै काठमाडौँमा हिंसात्मक गतिविधि गर्दै गणतन्त्र विरोधी नारा लगाएको थियो। सो घटनाको प्रतिवाद गर्दै एमालेले देशव्यापी रूपमा प्रदर्शन गर्दै आएको छ। पार्टीका शीर्ष नेताहरूले गणतन्त्रको रक्षा गर्न सशक्त रूपमा उभिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
कञ्चनपुरमा भएको मोटरसाइकल ¥याली एमाले जिल्ला कमिटीको अगुवाइमा निकालिएको थियो। ¥यालीमा सहभागीहरूले झन्डा फहराउँदै गणतन्त्रको रक्षा गर्न तयार रहनुपर्ने बताएका थिए। उनीहरूले नेपालमा लोकतन्त्र र संविधानमाथि आँच आउन नदिन आम जनतालाई सतर्क रहनसमेत अपिल गरे।
नेकपा एमालेले आगामी दिनमा अझ सशक्त प्रदर्शन गर्ने संकेत गरेको छ। पार्टीले गणतन्त्रविरोधी गतिविधिलाई कुनै हालतमा स्वीकार नगर्ने अडान लिएको छ। काठमाडौँमा मात्रै नभई देशभर एमाले कार्यकर्ताहरू विरोध प्रदर्शन गर्दैछन्। एमालेका नेता तथा कार्यकर्ताहरूले गणतन्त्रको रक्षा नै आफ्नो प्रमुख दायित्व भएको जानकारी दिनु भएको छ।

