विरेन्द्र बाग:बर्दिया, चैत्र १८। सदरमुकाम गुलरियामा ५३ भन्दा बढी निजी अस्पताल, पोलिक्लिनिक, फार्मेसी र प्याथोलोजी ल्याब अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ। नियमित अनुगमन नहुँदा जनस्वास्थ्यमा खेलाँची भइरहेको स्वास्थ्य कार्यालय गुलरियाले स्वीकार गरेको छ।
लुम्बिनी प्रदेश स्वास्थ्य विभागबाट इजाजत नलिई सञ्चालनमा रहेका यी स्वास्थ्य संस्थाहरूलाई तत्काल प्रक्रिया पूरा गर्न निर्देशन दिइएको स्वास्थ्य कार्यालय गुलरियाका प्रमुख शिवकुमार चौधरीले जानकारी दिनुभयो।
स्वास्थ्य सेवासँग प्रत्यक्ष सरोकार राख्ने यी संस्थाहरू कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा आउँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको छ। नियमित अनुगमन नभएका कारण अवैध रूपमा औषधि पसल खोल्नेको संख्या समेत बढ्दै गएको जनाइएको छ।
बर्दियामा कति स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा छन् भन्ने ठोस विवरण नरहेको जनस्वास्थ्य कार्यालयको भनाइ छ। जिल्लामा रहेका नियामक निकाय र औषधि व्यवस्था विभागले चासो नदिएका कारण अवैध औषधि व्यवसायीहरू कारवाहीभन्दा बाहिर रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

