विरेन्द्र बाग:काठमाडौं, चैत्र १९। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जानु भएको छ। भ्रमणको क्रममा उहाँले बैंककमा आयोजना हुने बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी पहल) को छैटौं शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नु हुनेछ।
प्रधानमन्त्रीको यो भ्रमण बिम्स्टेक सदस्य राष्ट्रहरूसँग सम्बन्ध सुदृढ पार्न र बहुपक्षीय सहयोग अभिवृद्धि गर्न केन्द्रित रहने बताइएको छ। शिखर सम्मेलनमा क्षेत्रीय व्यापार, ऊर्जा, यातायात, प्रविधि र आपसी सहयोगलाई प्रभावकारी बनाउन विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। नेपाल सन् २००४ देखि बिम्स्टेकको सदस्य रहँदै आएको छ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा थाइल्याण्डका उच्च अधिकारीहरूसँग भेटवार्ता हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै, नेपाली समुदाय तथा व्यवसायीहरूसँग पनि उहाँको विशेष भेटघाट हुने कार्यक्रम रहेको छ।
बिम्स्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले आपसी व्यापार तथा लगानी प्रवर्द्धन, जलवायु परिवर्तन, खाद्य सुरक्षा, तथा भौतिक पूर्वाधार विकासमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा विचारविमर्श गर्नेछन्। नेपालले बिम्स्टेकमार्फत ऊर्जा, यातायात तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिने रणनीति अख्तियार गरेको छ।
प्रधानमन्त्रीको यो भ्रमणले नेपाल-थाइल्याण्ड सम्बन्धलाई थप सुदृढ बनाउने तथा बिम्स्टेक क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन योगदान दिने विश्वास गरिएको छ।

