विरेन्द्र बाग:कञ्चनपुर, १९ वैशाख — भीमदत्त नगरपालिकाले शुक्रबार सञ्चारकर्मी तथा सरोकारवालासँग विपद् पूर्व तयारी र जोखिम व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
नगरपालिकाको विपद् शाखाले आयोजना गरेको कार्यक्रममा विपद् जोखिम न्यूनिकरणका लागि सञ्चारकर्मीहरूको भूमिकाबारे छलफल गरिएको थियो। शाखा प्रमुख मनोज भट्टले विपद् पूर्व, विपद्का बेला र विपद् पश्चात सञ्चारकर्मीको भूमिका निर्णायक हुने भन्दै गोष्ठीको उद्देश्य जोखिम न्यूनीकरण र सहकार्य सुदृढ बनाउने रहेको बताए।
कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले विपद् व्यवस्थापनमा सञ्चारकर्मीले सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
विपद् ज्ञानकार हिमाल थापाले कार्यपत्र प्रस्तुत गर्दै विपद्को समयमा सही र संवेदनशील सञ्चारको महत्वबारे प्रकाश पारे। उपमेयर नीलम लेखकले नगरपालिकाले विपद् जोखिम न्यूनिकरणका लागि स्रोत व्यवस्थापनदेखि पूर्वसूचना प्रणाली, उद्धार र राहत कार्यक्रमसम्मका तयारी अघि बढाएको जानकारी दिइन्।
“मानवीय संवेदनशीलता उच्च हुने यस्तो समयमा सञ्चारकर्मीहरू जिम्मेवार र गम्भीर बन्न आवश्यक छ,” उपमेयर लेखकले भनिन्।
कार्यक्रममा विपद् व्यवस्थापनमा सक्रिय संघसंस्था, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

