बझाङ, जेठ ११ — बझाङको केदारस्यु गाउँपालिका–२ का बासिन्दाले अब धनगढीस्थित नोभा अस्पतालमा २५ प्रतिशत छुटमा स्वास्थ्य सेवा लिन सक्ने भएका छन्। अनेरास्ववियुका विद्यार्थी नेता तथा सामाजिक अभियन्ता आशिष बिसीको पहलमा यस्तो सहुलियतको व्यवस्था गरिएको हो।
जनताको स्वास्थ्यमा सहज पहुँच कायम गर्न बिसीले नोभा अस्पतालसँग सहकार्य गर्दै छुट व्यवस्था ल्याएका हुन्। सम्झौताअनुसार ओपीडी, ल्याब परीक्षण, एक्स–रे, फार्मेसीलगायतका सेवामा छुट दिइनेछ।
सो समझदारीपत्रमा आशिष बिसी र नोभा अस्पतालकी प्रशासकीय अधिकृत गीता खत्रीबीच हस्ताक्षर भएको हो। अब केदारस्यु–२ का नागरिकले नेपाली नागरिकता प्रमाणपत्र वा वडा कार्यालयबाट प्रमाणित परिचय खुल्ने कागजात अस्पतालमा पेश गरेपछि छुट पाउन सक्नेछन्।
नेता बिसीले जनताको स्वास्थ्य सुलभ बनाउन आफूले निरन्तर प्रयास गर्दै आएको बताए।
“स्वास्थ्य सबैको अधिकार हो। सबै नागरिकलाई गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउनु हाम्रो दायित्व हो,” बिसीले भने। उनले आगामी दिनमा जनहितका अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
नोभा अस्पतालकी प्रशासकीय अधिकृत खत्रीले जनताको सेवामा अस्पताल सधैं तत्पर रहेको बताउँदै यस्ता सहकार्य भविष्यमा पनि निरन्तर गरिने जनाइन्।
स्थानीयबासीहरूले यो पहलप्रति प्रशंसा व्यक्त गर्दै युवाको सक्रियता र नेतृत्वले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
यो सहुलियतको व्यवस्था न केवल सेवा पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ, तर समाजसेवातर्फ अन्य युवाहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।

