सुर्खेत, जेठ १२ — सामाजिक सञ्जालमा जातीय विभेदपूर्ण अभिव्यक्ति दिएका आरोपमा फरार अभियुक्त शेरबहादुर थापा सुर्खेतबाट पक्राउ परेका छन्। दैलेख आठबीस नगरपालिका–६ स्थायी घर भएका ३९ वर्षीय थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले आइतबार बिहान १०:१५ बजे वीरेन्द्रनगर–१० बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत दर्ता गरिएको मुद्दामा फरार थिए। सामाजिक सञ्जाल फेसबुकमार्फत विभेदकारी र आपत्तिजनक अभिव्यक्ति दिएका थापालाई स्थानीयको गुनासोपछि प्रहरीले निगरानीमा राख्दै आएको थियो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता मोहनजंग बुढाथापाका अनुसार, थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका स्टाटसहरूले सामाजिक तानाव सिर्जना गरेको र समुदायमा असन्तोष फैलिएको जनाइएको छ। प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै उनलाई पक्राउ गरेको हो।
थापा आफूलाई ‘पत्रकार’को रूपमा चिनाउँदै आएका थिए। उनले पत्रकारिता आचारसंहिताविपरीत व्यक्तिगत दृष्टिकोण सार्वजनिक गर्दै समुदायमा द्वन्द्व सिर्जना गर्ने खालका अभिव्यक्तिहरू दिँदै आएको प्रहरीले जनाएको छ। पक्राउपछि उनले प्रहरीसमक्ष पनि ‘म पत्रकार हुँ’ भन्दै कानुनी प्रक्रियाबाट उम्कन खोजेका थिए।
तर प्रहरी अधिकारीहरूले पत्रकारको परिचयको आडमा गैरजिम्मेवार अभिव्यक्ति दिने कार्यलाई सह्य नहुने बताएका छन्। “पत्रकार हुनु भनेको झन् जिम्मेवार हुनु हो, समाजमा नकारात्मक असर पार्ने गतिविधि गर्न छुट होइन,” डीएसपी बुढाथापाले भने।
थापाविरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा अघि बढाइएको छ। ऐनअनुसार दोषी प्रमाणित भएमा कैद र जरिवाना दुवै सजायको व्यवस्था छ। हाल उनी प्रहरी हिरासतमा छन् र थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीले सामाजिक सञ्जालमा गैरजिम्मेवार अभिव्यक्तिबाट समाजमा हुने नकारात्मक असर रोक्न निगरानीलाई अझ सशक्त बनाउने जनाएको छ। साथै, नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता सँगसँगै कानुनी जिम्मेवारीबारे सजग हुन पनि आग्रह गरेको छ।

