काठमाडौँ, जेठ १९ – पूर्वराजा वीरेन्द्र शाहसहित राजपरिवारका सदस्यहरुको नारायणहिटी दरबारमा हत्या भएको २४ वर्ष पुगेको स्मरणमा आज देशभर विविध कार्यक्रमका साथ स्मृति दिवस मनाइँदैछ।
विसं २०५८ साल जेठ १९ गते शुक्रबारको साँझ, नारायणहिटी राजदरबारमा आयोजित पारिवारिक भोजकै क्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजा वीरेन्द्रका भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको गोली प्रहारबाट मृत्यु भएको थियो।
घटनापछि अर्ध मूच्र्छित अवस्थामा रहेका युवराज दीपेन्द्रलाई भोलिपल्ट जेठ २० गते राजा घोषणा गरिएको थियो। तर उनको पनि जेठ २२ गते निधन भएपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह राजा बनेका थिए।
घटनाको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समिति गठन गरिएको थियो। समितिले युवराज दीपेन्द्रले नै सम्पूर्ण हत्या गरी अन्ततः आत्महत्या गरेको निष्कर्षसहित प्रतिवेदन पेश गरेको थियो। तर यो निष्कर्ष आम जनमानसले अझैसम्म स्वीकार गरेका छैनन्।
पूर्वराजा वीरेन्द्र र उनका परिवारको सम्झनामा विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रमहरू आयोजना गरिएका छन्। सो अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले जावलाखेलस्थित वीरेन्द्रको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि सभा आयोजना गरेको छ।

