विरेन्द्र बाग: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई दोषी देखाउने प्रयास राज्यको संगठित अपराध भएको दाबी गरेका छन्। पार्टीको स्थापना दिवसको अवसरमा शनिबार जारी विशेष सन्देशमार्फत लामिछानेले यस्तो गम्भीर आरोप लगाएका हुन्।
उनको सन्देश ‘हाते पुस्तिका’ को स्वरूपमा पार्टीका कार्यकर्ता, समर्थक र जनतासम्म पुर्याइने नेता दीपक बहादुर बोहोराले जानकारी दिए। बोहोराका अनुसार, “यो दस्तावेज देश, विदेश, गाउँ, सहर हुँदै घरघर पुग्नेछ।”
बोहोराले थपे, “पार्टी स्थापना दिवसको अवसरमा सभापति लामिछानेको विशेष सन्देश प्राप्त गरेका छौँ। आजैदेखि प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान पनि सुरु हुँदैछ। अब हाम्रो मुद्दा जनताको अदालतमा पनि दर्ज हुँदैछ।”
सन्देशको सन्देश: राजनीतिभन्दा माथि न्याय
रवि लामिछानेले आफ्ना समर्थक तथा जनतालाई न्यायको पक्षमा उभिन आह्वान गरेका छन्। उनले आफूले कुनै किसिमको संगठित अपराध नगरेको तर राज्यका केही शक्तिशाली निकायहरुले उनलाई लक्षित गरी योजनाबद्ध रुपमा फसाउने प्रयास गरेको उल्लेख गरेका छन्।
हस्ताक्षर अभियान र आन्दोलनको संकेत
यसै सन्दर्भमा, पार्टीले “प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान” सुरु गर्ने घोषणा गरेको छ। यसले रास्वपाले न्याय र पारदर्शिताका लागि देशव्यापी अभियान चलाउने संकेत दिन्छ।
पार्टीको आगामी दिशा–निर्देश
पार्टीको स्थापना दिवसलाई अवसर बनाएर यस्तो दस्तावेज ल्याउनु र आन्दोलनको प्रारम्भ गर्नुले रास्वपाको भावी रणनीतिमा आक्रामकता र प्रतिरोधको संकेत देखिएको छ।

