महेन्द्रनगर ,मनसुन सक्रिय भएसँगै बाढी, डुबान र पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम तीव्र रूपमा बढिरहेको अवस्थामा, कञ्चनपुरमा राष्ट्रिय युवा संघ नेपालले विपद् व्यवस्थापनका लागि विशेष टोली गठन गरेको छ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘विपद्को बेला राष्ट्रिय युवा संघ नेपाल जनताको साथमा’ भन्ने स्पष्ट नारासहित ३१ सदस्यीय राहत तथा उद्धार टोली गठन गरेको हो।
युवा संघ कञ्चनपुरका अध्यक्ष दिनेश विष्ट (डिबि) को नेतृत्वमा गठन गरिएको उक्त टोली, सम्भावित विपद्को पूर्वतयारी स्वरूप परिचालनमा आउनेछ।
अध्यक्ष विष्ट भन्छन्:
“कञ्चनपुर बाढी र डुबानको उच्च जोखिममा रहेको जिल्ला हो। आपत्को बेला सरकारी संयन्त्र मात्र पर्याप्त नहुन सक्छ, त्यसैले हाम्रो टोली तत्काल उद्धार र राहतमा खटिनेगरी तयारी अवस्थामा रहनेछ,” उनले भने।
उक्त टोलीले जिल्लाका सबै नौ वटै स्थानीय तहमा फोकल पर्सन तोकेको छ, जसले सूचना संकलनदेखि उद्धार समन्वयसम्मको जिम्मेवारी सम्हाल्नेछ।
संघले सुरक्षा निकाय, स्थानीय प्रशासन र सामाजिक संघसंस्थासँग सहकार्य गरेर विपद्मा सशक्त रूपमा खटिने जनाएको छ।
बाढीका कारण घर डुब्ने, मानवीय क्षति हुनेजस्ता घटनामा तत्काल उद्धार र राहत पुर्याउने तयारी युवा संघले गरेको हो।
युवा संघको यो सक्रियताले संकटमा परेको जनताको जीवनरक्षा र पुनःस्थापनामा टेवा पुग्ने विश्वास लिइएको छ।

