बैंकक, थाइल्याण्ड — थाइल्याण्डकी प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले पदबाट निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि उनीमाथि राजीनामाको दबाब चुलिएको थियो।
चुहिएको टेलिफोन संवादमा प्रधानमन्त्री सिनावात्राले थाइ सेनाको कमाण्डरको आलोचना गर्दै उनलाई “अंकल” भन्ने अभिव्यक्ति दिएकी थिइन्, जसले देशको सैन्य प्रतिष्ठासँग सम्बन्धित गम्भीर विवाद उत्पन्न गरायो। यही विषयलाई लिएर अदालतमा उनीविरुद्ध बर्खास्तको माग गर्दै निवेदन दायर गरिएको थियो।
यस घटनापछि देशभर आक्रोशित जनता सडकमा उत्रिएका छन्। राजधानी बैंककमा हजारौं प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन्। यद्यपि सिनावात्राले आफ्नो टिप्पणीप्रति सार्वजनिक रूपमै माफी मागेकी छन्।
गत वर्ष साउन ३२ गते (२०२३ अगस्ट १६) प्रधानमन्त्रीको रूपमा नियुक्त भएकी सिनावात्राको निलम्बनले थाइल्याण्डको राजनीतिक स्थायित्वमा नयाँ संकट थपेको छ।

