
गणेशबहादुर बिष्ट सुदूरपश्चिम प्रदेश ब्युरो प्रमुख र जेनिसा ओझा कैलाली जिल्ला ब्युरो प्रमुखमा नियुक्त गरेको छ।न्युज 7 टेलिभिजनको हालै सम्पन्न आन्तरिक बैठकले संगठनको संरचना बलियो बनाउँदै सुदूरपश्चिम क्षेत्रका दुई महत्वपूर्ण जिम्मेवारीहरूमा नयाँ नियुक्ति गरेको छ। अध्यक्ष गजेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न बैठकले पत्रकारिताको पारदर्शिता, व्यावसायिकता र क्षेत्रीय सञ्जाल विस्तारको दृष्टिले यी निर्णयहरू सर्वसम्मत रुपमा पारित गरेको हो।
बैठकले गणेशबहादुर बिष्टलाई सुदूरपश्चिम प्रदेश ब्युरो प्रमुखको रूपमा नियुक्त गरेको छ। यसअघि बिष्ट तीन महिनाअघि कैलाली जिल्ला संवाददाताका रूपमा नियुक्त भएका थिए। उनको निरन्तर सक्रियता, विश्वसनीयता र पेशागत योगदानको आधारमा उनलाई प्रदेशस्तरीय जिम्मेवारी दिइएको हो। बैठकका सहभागीहरूले बिष्टको नेतृत्वमा प्रदेशस्तरीय पत्रकारिता अझै सशक्त, अनुशासित र जनमुखी हुने अपेक्षा व्यक्त गरेका छन्।
यससँगै कैलाली जिल्ला ब्युरो प्रमुखको जिम्मेवारीमा जेनिसा ओझालाई नियुक्त गरिएको छ। पत्रकारिता क्षेत्रमा क्रियाशील ओझाको समाचार संकलनमा देखिएको लगनशीलता, सशक्त प्रस्तुतिकरण र निष्पक्ष दृष्टिकोणको उच्च मूल्याङ्कन गर्दै उनलाई यो पदमा जिम्मेवारी दिइएको हो। जेनिसा ओझा हालसालैसम्म संवाददाताको भूमिकामा रहेर जिल्लाका विविध पक्ष उजागर गर्दै आएकी थिइन् उक्त निर्णय अध्यक्ष गजेन्द्र सिंहको अध्यक्षता, प्रबन्ध निर्देशक आलोकजंग साउद, व्यवस्थापन संयोजक चेतराज अवस्ती लगायत वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा गरिएको सामूहिक छलफलबाट लिइएको हो। बैठकले दुबै नियुक्तिहरूले सुदूरपश्चिम क्षेत्रको पत्रकारिता क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।नवनियुक्त सुदूरपश्चिम प्रदेश ब्युरो प्रमुख गणेशबहादुर बिष्ट र कैलाली जिल्ला ब्युरो प्रमुख जेनिसा ओझा दुवैले इमान्दार, मर्यादित र जनउत्तरदायी पत्रकारिताका सिद्धान्तमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले क्षेत्रीय समाचारको स्तरीयता र विश्वसनीयता कायम राख्दै स्थानीय मुद्दा उजागर गर्न सकृय रूपमा जुट्ने बताएका छन्।न्युज 7 टेलिभिजनको यो निर्णयले प्रदेशस्तरीय पत्रकार सञ्जाललाई सुदृढ पार्दै संगठनात्मक रूपमै राष्ट्रिय मिडिया क्षेत्रभित्र सशक्त उपस्थिति जनाउने संकेत गरेको छ। नियुक्त दुबै ब्युरो प्रमुखलाई सञ्चार क्षेत्रका शुभेच्छुक र सहकर्मीहरूले शुभकामना र सफल कार्यकालको कामना गरेका छन्।

