विरेन्द्र बाग:कञ्चनपुर, २६ असार — आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा, भक्ति र उत्साहपूर्वक मनाइएको छ। विद्या, संस्कार र जीवनमार्ग देखाउने गुरुप्रति सम्मान प्रकट गर्ने यो विशेष दिनमा विद्यालय, मठमन्दिर, शिक्षण संस्था तथा सामाजिक सञ्जालहरूमा गुरुहरूको योगदानको चर्चा गरिएको छ।
गुरु पूर्णिमा हिन्दू परम्पराअनुसार गुरुप्रति श्रद्धा व्यक्त गर्ने पर्व हो। यो दिनलाई वेदव्यास जयन्तिको रूपमा पनि मनाइन्छ, जसलाई सम्पूर्ण वेदहरूका रचयिता मानिन्छ।साउन महिनाको शुक्ल पक्षको पूर्णिमाका दिन यो पर्व मनाइन्छ। यस वर्ष गुरु पूर्णिमा २०८२ असार २६ गते परेको छ।
नेपाल, भारतलगायत हिन्दू धर्म मान्ने देशहरूमा यो पर्व धुमधामसाथ मनाइन्छ। विशेषतः विद्यालय, शिक्षण संस्था र मठमन्दिरहरूमा कार्यक्रम आयोजना गरिन्छ।
विद्यार्थीहरूले आफ्ना शिक्षक र गुरुलाई सम्मान जनाउँछन्। शिक्षण पेशामा संलग्न व्यक्ति, बौद्ध र हिन्दू धर्मालम्बीहरू यो पर्व मनाउने मुख्य समुह हुन्।गुरुबाट प्राप्त ज्ञान, संस्कार र अनुशासनको कदर गर्न तथा गुरुप्रति कृतज्ञता व्यक्त गर्न यो पर्व मनाइन्छ।
गुरुलाई तिलक, माला, मिठाई र सम्मानपत्र प्रदान गरिन्छ। सामाजिक सञ्जालमा शुभकामना सन्देश पोस्ट गरिन्छ। कतिपय स्थानमा गुरु पूजा एवं सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिन्छ।
यस अवसरमा शिक्षा, संस्कृति तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने सम्पूर्ण गुरुजनप्रति श्रद्धासहित नमन गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।

