
विरेन्द्र बाग: कञ्चनपुर, राना थारु समुदायको जीवनशैली, संस्कृति र सभ्यताको मौलिक दस्तावेजको रूपमा तयार पारिएको ‘राना थारु लोक जीवन’ पुस्तकको भव्य विमोचन गरिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन प्रा.डा. मुकुन्द कलौनीद्वारा लेखिएको उक्त पुस्तक बिहीबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो। विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले औपचारिक रूपमा पुस्तक विमोचन गरे।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी विशिष्ट अतिथिको रूपमा सहभागी थिए भने लेखक स्वयं डा. कलौनी कार्यक्रम अध्यक्ष थिए।
लेखक डा. कलौनीले राना थारु समुदाय कञ्चनपुरका भूमिपुत्र भएकाले तिनको जीवन दर्शन र मौलिक सांस्कृतिक सम्पदालाई लिपिबद्ध गर्नु आफ्नो बौद्धिक र सामाजिक उत्तरदायित्व भएको उल्लेख गरे। “यो समुदायको मौन इतिहासलाई शब्दमा उतार्न मैले गहिरो अध्ययन र अनुसन्धान गरेको छु,” उनले भने।
गहिरो विश्लेषण, समृद्ध बहस
कार्यक्रममा प्रा.डा. हरिशचन्द्र भट्ट, डा. किसन भट्ट, बासमती राना र राजकुमार रानाले पुस्तकका विविध पक्षमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै पुस्तकले राना थारु समाजको मूल आत्मा उजागर गर्न सफल भएको जनाए।
नेपाल संवाद केन्द्रद्वारा प्रकाशित यो पुस्तकमा छवटा अध्याय समेटिएका छन्, जसले राना थारु समुदायको मौलिकता, परम्परा, भाषा र रहनसहनलाई तथ्यपूर्ण ढंगले प्रस्तुत गरेको छ।
शिक्षा र संस्कृति बीचको पुल
लेखकले पुस्तक प्रकाशनमा विश्वविद्यालयको भूमिकालाई ‘अत्यन्त सहयोगात्मक’ भन्दै संस्थाप्रति आभार व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि उपकुलपति पन्तले यस्ता कृतिहरू विश्वविद्यालयले संरक्षण गर्नुपर्ने ज्ञान–सम्पदाका धरोहर भएको बताए।

