
विरेन्द्र बाग: कञ्चनपुर – साउन ९ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन फेरि अन्योलमा परेको छ। विभिन्न विद्यार्थी संगठनबीचको विवादका कारण शुक्रबार पुनः तोकिएको मनोनयन दर्ता पनि सम्पन्न हुन सकेन।
यसअघि साउन ६ गते मनोनयन दर्ताको प्रयास असफल भएको थियो। त्यस दिन नेविसंघ र अखिल क्रान्तिकारीबीच नाराबाजी र बोलाबोल भएपछि अवस्था झन् तनावग्रस्त बन्दै गएर नेविसंघ र नेपाल प्रहरीबीच हात हालाहालसम्मको स्थिति उत्पन्न भएको थियो। केही उम्मेदवारले पेट्रोल छर्किने र इँटा प्रहारसमेत गरेको दृश्यले क्याम्पस परिसरमा अशान्ति निम्त्याएको थियो।
त्यसपछि नेविसंघले निर्वाचन समिति संग छलफल गरीरहदा बाहीर नाराबाजी गरिरहेको अखिल क्रान्तिकारी सहितको ५ दलिय गठबन्धनका सदस्यहरुबाट पेट्रोल छर्केर आक्रमण गरी त्यसपछि नेपाल प्रहरीले नेविसंघलाई छानी छानी कुटपिट गरेको भन्दै दोषी माथी कारवाही नगरुन्जेल सम्मका भन्दै निर्वाचन समितिको कार्यालयमा प्रेस विज्ञप्तिमा जारी गर्दै ताला लगाएको थियो।
स्थगित भएको मनोनयन दर्ता लाई अगाडी बढ्ने भन्दै बिहीबार सर्वदलीय बैठक बसेको थियो।बिहीबार नेविसंघले सम्बन्धित निकायले आफूहरुका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि तालाबन्दी खोलेको विज्ञप्तिमा जनाएको छ। त्यसपछि निर्वाचन समितिले संशोधन सहित नयाँ सूची प्रकाशित गरेको थियो ।
शुक्रबार बिहान १० बजेदेखि पुनः मनोनयन दर्ता गर्ने निर्णय गरेको थियो। सोही अनुसार अखिल क्रान्तिकारीका उम्मेदवारहरूलाई १० बजेदेखि १०:२५ सम्मको समय दिइएको थियो। तर, निर्धारित समयमा मनोनयन दर्ता प्रक्रिया फेरि पनि अवरुद्ध भयो।
अनेरास्वियु र स्वतन्त्र विद्यार्थी समूहका संयोजक तथा सभापति पदका उम्मेदवार पुष्करराज पन्तले आफूहरूका मागहरू पूरा हुनु पर्ने, सुरक्षाको जिम्मा निर्वाचन समिति र प्रशासनले लिनु पर्ने र पेट्रोल तथा इँटा प्रहार गर्ने दोषीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै मनोनयन प्रक्रियामा अवरोध पुर्याए। लामो वार्ता पछि पनि निष्कर्ष ननिस्केपछि पुनः ३ बजे बैठक बस्ने भनिए पनि त्यो बैठक पनि निष्कर्षविहीन रह्यो।
अखिल क्रान्तिकारीसहितको पाँचदलीय गठबन्धनका सभापति उम्मेदवार हेमराज अवस्थीले “दुई ठूला दलका भातृ संगठनहरू अनेरास्ववियु र नेविसंघ नै चुनावबाट डराएका छन्,” भन्ने आरोप लगाए। उनी भन्छन्, “स्ववियु निर्वाचन सधैं अन्तिम समयमा बिथोलिन्छ, र यसले पठनपाठनमा समेत असर पुर्याइरहेको छ।”
त्यस्तै, अनेरास्ववियुका जिल्ला अध्यक्ष अमर धामी भने आफूहरू चुनाव गराउने पक्षमा रहेको बताउँछन्। तर पछिल्लो पटकको असफलता नेविसंघकै आन्तरिक उम्मेदवार विवादका कारण भएको अनेरास्ववियु र गठबन्धनको दाबी छ।
सुदूरपश्चिम विश्वविद्यालय स्थापना कालदेखि हालसम्म स्ववियु नभएकोमा पटक–पटक निर्वाचनको सूचना आए पनि साना विवादहरूलाई कारण देखाएर निर्वाचन बिथोलिँदै आएको छ। विद्यार्थीहरू भन्छन्, “चुनावको चर्चा सुरु भएदेखि कक्षाहरू अवरुद्ध हुन्छ्न , पठनपाठन अस्तव्यस्त भएको छ, तर नेतृत्व चयन हुने आशा भने अझै अधुरै छ।”

