विरेन्द्र बाग:मधेश प्रदेशमा पानीको चरम अभावले कृषकहरू चिन्तित बनेका छन्। वर्षा नहुँदा खेतहरू सुक्न थालेका छन् भने धेरै ठाउँमा धाँजो (चिरा) फाटेर बाली सखाप हुने खतरा बढेको छ।
सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, रौतहट लगायतका जिल्लाका अधिकांश खेतमा पानीको अभावका कारण रोपाइ नै गर्न नसकिएको किसानहरूको गुनासो छ। कतिपयले पहिले रोपेको धानसमेत सुकेर जान थालेको जनाएका छन्।
स्थानीय कृषक रामसरन यादव भन्छन्, “खेत चिरा परेर हिँड्नै सकिन्न। पानी नपरे धान त परै जाओस्, बिउ नै नास हुने भयो।”
प्रदेश सरकारले सिँचाइका योजना ल्याए पनि अधिकांश प्रभावकारी छैनन्। बोरिङ, ट्युबवेल र नहर जस्ता वैकल्पिक उपाय पनि पर्याप्त छैनन्। यसले उत्पादन घट्ने, खाद्य संकट बढ्ने र किसानको जीवन प्रभावित हुने खतरा बढेको छ।
कृषि कार्यालयका अनुसार हालसम्म आधा खेतमा मात्र रोपाइ भएको छ। यदि चाँडै पानी परेन भने मधेशमा गम्भीर कृषि संकट देखिनेछ।

