विरेन्द्र बाग: भाद्र १२ हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–३ मैलास्थित स्वास्थ्य संस्थामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास गर्ने तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सो स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोख्रेलका अनुसार गाउँपालिकामा स्वास्थ्य सेवा पुर्याउँदै आएकी ती स्वास्थ्यकर्मीमाथि जबरजस्ती गर्ने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना सार्वजनिक भएपछि पीडिताले दिएको उजुरीका आधारमा प्रहरी टोलीले ती तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार पक्राउ परेकामाथि कानूनी प्रक्रिया अनुसार कारबाही अघि बढाइनेछ। यस घटनाले दुर्गम क्षेत्रमा कार्यरत महिला स्वास्थ्यकर्मीहरूको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ। स्थानीय बासिन्दा र अधिकारकर्मीहरूले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

