धनगढी: धनगढीस्थित एसपिए कलेजले लामो समयदेखि रिक्त रहेको क्याम्पस प्रमुख पदमा सह–प्राध्यापक बुधराम चौधरीलाई नियुक्त गरेको छ। मंगलबार क्याम्पसको सभाहलमा आयोजित विशेष समारोहमार्फत चौधरीलाई औपचारिक रूपमा पदभार दिइएको हो।
नव नियुक्त प्रमुखलाई बधाई तथा शुभकामना व्यक्त गर्दै क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले चौधरी कलेजसँग लामो समयदेखि शैक्षिक यात्रामा संलग्न रहँदै आएको उल्लेख गर्दै, “सही समयमा योग्य व्यक्तिलाई जिम्मेवारी दिइएको छ,” भने। उनले चौधरीको नेतृत्वमा क्याम्पसले नयाँ शैक्षिक उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
उक्त अवसरमा क्याम्पस प्रमुख चौधरीले आफू संस्थाको स्थापना कालदेखि अध्यापनमा संलग्न रहँदै आएको स्मरण गर्दै, व्यवस्थापनले दिएको विश्वासलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले टिमवर्कमा विश्वास राख्ने बताउँदै शैक्षिक गुणस्तर वृद्धि तथा समग्र क्याम्पस उन्नयनका लागि पूर्ण रूपमा समर्पित रहने प्रतिज्ञा गरे।

