सन्तोष धानुक : कन्चनपुर, भाद्र १९ कंचनपुरको बेदकोट नगरपालिका–४, बैतडामा यस वर्ष पनि भाद्र २१ गते टाका जात्रा भव्य रूपमा आयोजना हुने भएको छ। बैतडास्थित श्री महादेव निमुन पहरोल देवताको मन्दिर क्षेत्रमा हुने यो जात्राको तयारी भइरहेको छ।
प्रत्येक वर्ष काठमाडौंमा हुने इन्द्र जात्राकै दिन बैतडामा पनि टाका जात्रा मनाउने परम्परा रहिआएको छ। विशेष गरी बैतडी जिल्लाको पुर्चौडी–४ बाट पुर्ख्यौली बसोबास गर्दै आएका समुदाय अहिले बेदकोट–४ बैतडामा समेत बसोबास गरिरहेका छन्। उनीहरूले आफ्नै सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यहाँ पनि सोही दिन धुमधामका साथ टाका जात्रा मनाउने गरेका छन्। पुर्चौडीमै जस्तै बैतडामा पनि यस दिन श्री महादेव निमुन पहरोल देवताको मन्दिरमा पूजा–आराधना, तथा सामूहिक कार्यक्रम गरिन्छ।
जात्रामा धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने कार्यक्रमहरू प्रस्तुत गरिन्छ। स्थानीय कलाकार तथा समुदायले दमहा, देउडा, ठाडी भाका लगायतका लोक गीत–संगीत प्रस्तुत गर्दै रातभर रमाइलो गर्ने गर्दछन्। युवादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागितामा हुने यो जात्रा सामाजिक एकता, सांस्कृतिक संरक्षण र परम्परा जगेर्नाको अवसरको रूपमा लिइन्छ।
स्थानीय बासिन्दाहरूका अनुसार, टाका जात्राले गाउँमा चहलपहल ल्याउनुका साथै पुराना परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर पनि दिन्छ। जात्राको अवसरमा टाढा–टाढाबाट आएकाहरूले आफन्तसँग भेटघाट गर्ने, सामूहिक खुसी बाँड्ने तथा सांस्कृतिक झल्कोमा रमाउने वातावरण बन्ने गर्दछ।
यसरी हेर्दा, बैतडाको टाका जात्रा धार्मिक विश्वाससँगै सांस्कृतिक विविधतालाई जोड्ने महत्वपूर्ण पर्व बनेको छ। तयारीलाई अन्तिम रूप दिइएको र यसपटक पनि ठूलो संख्यामा श्रद्धालु र भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ।

