
विरेन्द्र बाग:कंचनपुर,असोज १ – सुदूरपश्चिमका विभिन्न जिल्लामा आज असोज १ गते परम्परागत रूपमा “बुरी पोल्ने” पर्व मनाइएको छ। स्थानीय समाजमा यो पर्वलाई अशुभ शक्तिको अन्त्य, रोगव्याधिको नाश र नयाँ वर्षको शुभकामना स्वरूपका रूपमा लिइन्छ।
बुरी पोल्ने चलन अनुसार गाउँ–गाउँका युवादेखि वृद्धसम्म भेला भई पुरानो वर्षमा देखिएका रोग, पीडा, दु:ख र अशुभतालाई “बुरी” नामक प्रतीकात्मक पुतली बनाएर पोलिन्छ। त्यसपछि गीत, नाच र सामूहिक रमाइलोका साथ नयाँ वर्षलाई स्वागत गरिन्छ।
सांस्कृतिक अभियन्ताहरूका अनुसार असोज १ गतेलाई सुदूरपश्चिममा स्थानीय नयाँ वर्षको सुरुवात मानिन्छ। यस दिन कृषकहरूले धानमा बाल आउन थालेको बेला मेहनतपश्चात रमाइलो गर्ने चाडको रूपमा पनि यो परम्परा जगेर्ना गर्दै आएका छन्।
बझाङ, डोटी, अछाम, बाजुरा, बैतडीलगायत जिल्लामा विशेष रूपमा मनाइने यो पर्वले सामाजिक एकता, सद्भाव र सामूहिक उत्सवको पहिचान दिएको छ।

