विरेन्द्र बाग: कंचनपुर, भ्रष्टाचार र दण्डहीनताको अन्धकार चिर्न जनचेतनाको मशाल बोकेको **‘जेनजी मुभमेन्ट अलायन्स’**ले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको स्वेच्छिक राजीनामा माग गरेको छ।
आन्दोलनका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ — “यो केवल आन्दोलन होइन, यो नैतिक पुनर्जागरणको अभियान हो।”
अख्तियारका नेतृत्वकर्ताको नियुक्ति नै निष्पक्षताको सीमाभन्दा पर रहेको भन्दै, आयोग अब विश्वासभन्दा शंका र असन्तोषको प्रतीक बनेको आरोप लगाइएको छ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको नियुक्तिले अख्तियारको स्वतन्त्रताको धरातल कमजोर बनाएको अलायन्सको निष्कर्ष छ। हालैको विशेष अदालतको टिप्पणीले प्रमुख आयुक्तमाथि ‘स्वार्थ द्वन्द्व’ र ‘चयनात्मक अभियोजन’को आरोप थप गहिरिएको भन्दै, उनीहरूको राजीनामा माग झन् तीव्र भएको विज्ञप्तिमा उल्लेख छ।
अलायन्सले चेतावनी दिएको छ “जब न्याय खोज्ने संस्था स्वयं नै अन्यायको प्रतीक बन्छ, तब मौनता पनि अपराध बन्छ।”
अख्तियार सुधार र पुनर्गठनको नागरिक अभियान छिट्टै सुरु गर्ने तयारीसमेत अलायन्सले जनाएको छ।
यसबारे अहिलेसम्म आयोग वा प्रमुख आयुक्त प्रेमकुमार राईतर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
