
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वन मंसिर ११ गते बिहानसम्म सामान्यजस्तै थियो। तर दिउँसो २ बजेदेखि ४ बजेसम्मको बीचमा भएको अभूतपूर्व कटानी अभियानपछि साँझ पर्नु साथ वनको रूपै फेरियो— करिब १६४ ठाडा रुख जमिनमा लडाइएका भेटिए।
दिनदहाडै भएको यस्तो “वन महाविनाश” ले स्थानीय, जनप्रतिनिधि र प्रशासन सबै हक्का–बक्का बनेका छन्।
घटनापछि तत्कालै डिभिजन वन कार्यालय कञ्चनपुरले छानबिन सुरु गरेको छ।
प्रमुख सुरेशचन्द्र डिसी भन्छन् “१६४ रुख केही घण्टामै ढले। कसले र किन काट्यो भन्नेबारे प्रमाणहरू संकलन भइरहेको छ।”उनका अनुसार केही प्रारम्भिक प्रमाण भेटिए पनि मूल योजनाकार पहिचान हुन बाँकी छ।
कलेज निर्माणको बहानामा ‘जग्गा कब्जा खेल’ ? रुख कटान भएको क्षेत्र नजिकै कोरियाली सहयोगमा प्राविधिक कलेज बनाउने तयारी भइरहेको छ।
यही बहानामा भूमि कब्जा गर्न खोज्ने गिरोहले व्यवस्थित ढंगले रुख काटेको हुनसक्ने आशंका छ। छानबिनले पनि यसै दिशामा संकेत गरिरहेको वन कार्यालय स्रोत जानकारी दिएको छ।
वडाध्यक्ष भन्छन् “बिहान १० बजे सम्म म कार्यालयमै थिएँ। बनतिर शून्य गतिविधि थियो।साँझ ४:३० बजे मात्रै प्रहरीले खबर दियो। पुग्दा रुख हरू भुइँमै थे, मान्छे एक जना थिएन।”
यसरी दिनभरै चुइँक्क सुन्न नदिई दुई घण्टामै १६४ रुख ढल्नु अझै ठूलो रहस्य बनिरहेको छ। सामुदायिक वन अध्यक्ष “सुरुबाटै सुरक्षा कमजोर, तर १६४ रुख एकैदिन काटिए जस्तो लाग्दैन” सामुदायिक वनकी अध्यक्ष कुमारी बोहरा भन्छिन। “तारबार थिएन, सुरक्षा थिएन। पहिले नै सुक्दै गएका रुख काट्ने चलन थियो। तर १६४ रुख एउटै दिनमा काटिए भन्नेमा म विश्वस्त छैन।”
उनले आफू उपचारका लागि धनगढी गएको र फर्कँदा सबै रुख ढलेको अवस्थामात्र देखेको बताइन्।
मेयरमाथि पनि छानबिन : आरोप अस्वीकार वन कार्यालय स्रोतका अनुसार नगरप्रमुख हेमराज ओझाको सुझावमा केही व्यक्तिहरूले रुख काटेको आरोप छ।
तर मेयर ओझा भन्छन् “म मेयर भएपछि वृक्षारोपण अभियान चलाएको मान्छे।
३ रुख काट्न पनि मैले जिल्ला वनलाई पत्र लेख्थें।
१६४ रुख कटानीमा मेरो संलग्नता शून्य छ।”
उनले सामुदायिक वनमा सुक्का रुख पहिलेबाटै काटिँदै आएको दाबी पुनः दोहोर्याए। अख्तियार पनि सक्रिय, फोटोसमेत संकलन
१६४ रुख कटानीकाण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत सक्रिय बनाएको छ। डिभिजन वन प्रमुख डिसी भन्छन्“अख्तियारले बुझ्न बोलाएको थियो। प्रहरीले केही व्यक्तिहरू कटानी क्रममा भएको फोटो खिचेको छ।
ती पक्राउ परेपछि ‘कसले कटान गरायो’ पत्ता लागिहाल्छ।”

