शाइन रेशुङगा डेभलपमेन्ट बैंक लिमिटेड, महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भिमदत्त नगरपालिका–०४ का अति विपन्न परिवार तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी ब्लाङ्केट, छात्रवृत्ति र स्टेशनरी वितरण गरेको छ।
बुधबार सम्पन्न कार्यक्रममा बृद्ध दलीत समुदायका अभिभावक र २० जना गरिब तथा जेहेन्दार विद्यार्थी प्रत्यक्ष लाभान्वित भए।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शुशील कुमार भट्ट र विशिष्ट अतिथि जगदीश चन्द्र भट्टको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनायो। उपस्थित अतिथिहरूले बैंकको सामाजिक उत्तरदायित्वले लक्षित समुदायको जीवनस्तर सुधारमा ठोस योगदान पुर्याइरहेको उल्लेख गर्दै बैंक परिवारप्रति आभार व्यक्त गरे।
विशिष्ट अतिथि जगदीश चन्द्र भट्टले, “विपन्न परिवार र विद्यार्थीको वास्तविक आवश्यकता पहिचान गरी गरिएको सहयोग अनुकरणीय अभ्यास हो,” भन्दै बैंकको पहलले समुदायमा सकारात्मक ऊर्जा भरेको बताए।
त्यसैगरी प्रमुख अतिथि शुशील कुमार भट्टका अनुसार, बैंकको CSR कार्यक्रमले सरकारी प्रयासलाई पूरक भूमिका खेलेको छ। २० विद्यार्थीलाई प्रदान गरिएको छात्रवृत्ति तथा स्टेशनरीले शैक्षिक यात्रामा आत्मविश्वास, निरन्तरता र प्रेरणा थप्ने विश्वास व्यक्त गरे।
शाखा प्रबन्धक बासुदेव पन्तले कार्यक्रमले समुदायमा प्रत्यक्ष प्रभाव पार्दै व्यवहारगत तथा सामाजिक परिवर्तनका लक्ष्य सफलतापूर्वक हासिल गरिरहेको जानकारी दिए। स्थानीय बासिन्दाले पनि बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता प्रशंसनीय र उदाहरणीय रहेको प्रतिक्रिया दिएका छन्।

