संतोष धानुक: कंचनपुर पुस १२ ।कञ्चनपुरका सेतीकाली राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक तथा युवा पत्रकार अर्जुन बहादुर सिंहले आफ्नो जन्मदिनको अवसरमा एक बाल खेलाडीलाई खेल पोषाक (युनिफर्म) सहयोग गरेका छन्।
शनिबार शुक्लाफाँटा नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालय, कसरोलमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी दिपेश रानालाई एक जोर खेलाडी पोषाक प्रदान गरिएको हो।
बाल खेलाडी राना शुक्लाफाँटा नगरपालिकामा आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता अन्तर्गत १५ सय मिटर र ३ हजार मिटर दौडमा सहभागी भई सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। उनको खेल प्रतिभा र उत्साहलाई थप प्रोत्साहन गर्न युनिफर्म सहयोग गरिएको पत्रकार सिंहले बताए।
सेतीकाली राष्ट्रिय दैनिकका सम्पादक तथा प्रकाशकसमेत रहेका सिंह नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशका सदस्य हुन्। उनी समसामयिक राजनीति, सुशासन तथा जनसरोकारका विषयमा निरन्तर मुद्दा उठाउँदै आएका पत्रकारका रूपमा परिचित छन्।
जन्मदिनको अवसरमा पत्रकार सिंहलाई सहकर्मी, शुभेच्छुक तथा पाठकहरूले शुभकामना व्यक्त गरेका छन्।
