पौष १६ , कञ्चनपुरकोे दक्षिणी भेगमा रहेको बेल्डाँडी गाउँपालिकाका लागि गर्वको क्षण बनेको छ। उप–प्राध्यापक डा. वीरबहादुर सिंह ठकुरी बेल्डाँडी गाउँपालिकाबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्ने पहिलो व्यक्ति बनेका छन्।
ग्रामीण परिवेशबाट शैक्षिक यात्राको सुरुवात गरेका डा. ठकुरीले बेल्डाँडी गाउँपालिका–स्थित रौलेश्वर माध्यमिक विद्यालयबाट माध्यामिक शिक्षा पूरा गर्दै उच्च शिक्षातर्फ कदम बढाएका थिए। निरन्तर मेहनत, धैर्य र अध्ययनप्रतिको समर्पणले उनलाई आज यो ऐतिहासिक उपलब्धिसम्म पुर्याएको हो।
उनले २०८२ साल पौष १६ गते त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय, डीनको कार्यालयमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (फाइनल भाइभा) सफलतापूर्वक सम्पन्न गरेका हुन्। उनले ग्रामीण विकास विषयमा
“भीमदत्त नगरपालिका, कञ्चनपुरमा वैदेशिक रोजगारीका सामाजिक–आर्थिक प्रभावहरू”
(Socio-Economic Impacts of Foreign Employment in Bheemdatta Municipality, Kanchanpur)
शीर्षकमा शोध गरी पिएचडी उपाधि हासिल गरेका छन्।
फाइनल भाइभापछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै डा. ठकुरीले यस उपलब्धिलाई जीवनकै महत्वपूर्ण क्षणको रूपमा उल्लेख गरेका छन्। उनले बुवा–आमा, गुरुजन तथा आफूलाई साथ दिने सम्पूर्ण व्यक्तिप्रति कृतज्ञता व्यक्त गरेका छन्।
हाल सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा उप–प्राध्यापक का रूपमा कार्यरत डा. ठकुरी यसअघि सहायक परीक्षा नियन्त्रक को जिम्मेवारी निर्वाह गरिसकेका छन्। वर्तमानमा उनी मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत विभागीय प्रमुख का रूपमा समेत कार्यरत छन्।
ग्रामीण पृष्ठभूमिबाट उच्च शैक्षिक शिखर चुम्न सफल डा. ठकुरीको यो उपलब्धिले बेल्डाँडी क्षेत्रसहित सिंगो सुदूरपश्चिमका युवालाई उच्च शिक्षा र अनुसन्धानतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ।
काठमाण्डौ ।

