News7 TV
बुधबार, बैशाख २, २०८३ | April 15, 2026 |

सुदूरपश्चिममा दलित सशक्तिकरण ऐन संशोधन विधेयक विवादित, सांसद लक्ष्मी विकद्वारा कडा संशोधन प्रस्ताव दर्ता

काठमाण्डौ ।

 

 

सञ्जु महर:धनगढी । सुदूरपश्चिम प्रदेश सभामा टेबुल भएको ‘दलित सशक्तिकरण ऐन, २०७८’ लाई संशोधन गर्न बनेको विधेयकविरुद्ध पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य लक्ष्मी विकले कडा असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । प्रदेश सरकारले ल्याएको संशोधन विधेयकले दलित समुदायको अधिकार कुण्ठित गर्ने र संरचनालाई कमजोर बनाउने नियत राखेको आरोप लगाउँदै उहाँले पुस १८ गते प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो ।

 

पुस १७ गते प्रदेश सभामा छलफलका लागि पेश भएको विधेयकको सैद्धान्तिक छलफलमा सांसद विकले सरकारको प्रस्ताव ‘कानुनी जालझेल र षड्यन्त्रको सिद्धान्त’ बाट प्रेरित रहेको गम्भीर आरोप लगाउनुभयो । उहाँले विधेयकका दफा ३, ५ र ९ का प्रावधानहरूले दलित विकास समितिलाई पंगु बनाउने खतरा रहेको भन्दै ती दफाहरूमा व्यापक संशोधन आवश्यक रहेको बताउनुभयो ।

 

विशेषगरी ऐनको दफा ३ अन्तर्गत प्रस्ताव गरिएको ‘प्रादेशिक निर्देशन समिति’ प्रति उहाँको मुख्य आपत्ति छ । विगतमा रहेको प्रदेश स्तरीय अनुगमन समितिलाई हटाएर निर्देशन समिति बनाउनुको सट्टा ‘अधिकार सम्पन्न प्रादेशिक दलित विकास समिति’ गठन हुनुपर्ने उहाँको जिकिर छ । यस्तो समिति नै संविधानको धारा २४ र ४० ले प्रत्याभूत गरेको दलित समुदायको मौलिक हक कार्यान्वयनका लागि आवश्यक हुने उहाँको तर्क छ ।

 

यस्तै, दफा ९ मा समितिको उपाध्यक्षको मर्यादाक्रम र योग्यतामा पनि संशोधन प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयकमा उपाध्यक्षलाई दशौँ तहको कर्मचारी सरह राख्ने र मन्त्रालयका उपसचिव सदस्य रहने व्यवस्था गरिएकोमा यसले समितिलाई कर्मचारीतन्त्रको अधीनमा पार्ने सांसद विकको भनाइ छ । उहाँले सामाजिक विकास मन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा, राज्यमन्त्री वा सहायक मन्त्री सरहको कार्यकारी अधिकारसहित उपाध्यक्ष रहने र प्रदेशका सबै मन्त्रालयका सचिवहरू पदेन सदस्य हुने संरचना प्रस्ताव गर्नुभएको छ ।

 

उपाध्यक्षको शैक्षिक योग्यता १२ कक्षा वा सो सरह प्रस्ताव गरिएकोमा त्यसलाई सच्याएर स्नातक वा स्नातकोत्तर अनिवार्य गर्नुपर्ने माग पनि संशोधनमा समेटिएको छ । समितिका अन्य सदस्यहरू उच्च शैक्षिक योग्यताका हुने भएकाले उपाध्यक्षको योग्यता पनि सोही अनुसार हुनुपर्ने उहाँको तर्क छ ।

 

त्यसैगरी, ऐनको दफा ५ अनुसार प्रदेशका ८८ वटै स्थानीय तहमा ‘अनुगमन समिति’ को सट्टा कानुनी हैसियतसहित ‘सामाजिक विकास तथा विभेद उन्मुलन समिति’ गठन गर्नुपर्ने प्रस्ताव समेत संशोधनमा समावेश गरिएको छ ।

 

चार हजार वर्षदेखि उत्पीडनमा परेको दलित समुदायको सामाजिक न्याय, समानता र सशक्तिकरणका लागि अधिकार सम्पन्न संरचना अनिवार्य रहेको भन्दै सांसद विकले कमजोर र अधिकारविहीन व्यवस्था स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । उहाँले यो कानुनी लडाइँमा साथ दिन आम समुदायलाई अपिल गर्नुभएको छ । संशोधन प्रस्तावले प्रदेश सभामा सत्ता पक्ष र प्रतिपक्षबीच नयाँ बहस र तरंग ल्याउने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.