संतोष धानुक:आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र नं. २ ले आन्तरिक निर्वाचनमार्फत उम्मेदवार सिफारिस गरेको छ।
पार्टी केन्द्रको सर्कुलरअनुसार २ पुरुष र १ महिला उम्मेदवार सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि सहमति जुट्न नसकेपछि क्षेत्रीय कमिटी निर्वाचन प्रक्रियामा गएको हो। उम्मेदवारीको दौडमा पूर्व सांसद नरबहादुर धामी, पूर्व बेदकोट नगर मेयर अशोक कुमार चन्द र राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय अध्यक्ष बचन बहादुर सिंह थिए। महिला तर्फ पार्वती जोशी र पार्टी जिल्ला अध्यक्ष लक्ष्मी बुढा बीच प्रतिस्पर्धा भएको थियो।
शनिबार झलारीमा बसेको एमाले क्षेत्र–२ कमिटी बैठकले सहमति निकाल्न नसकेपछि आइतबार निर्वाचन गरिएको हो।
निर्वाचन परिणामअनुसार
अशोक कुमार चन्दले ६१ मत, नरबहादुर धामीले ५७ मत र महिला तर्फ पार्वती जोशीले ४४ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
खुला तर्फ बचन बहादुर सिंहले ५० मत र महिला तर्फ लक्ष्मी बुढाले ४१ मत ल्याएका छन्। कुल ९५ मतदाता मध्ये ८४ मत खसेको थियो।
चन्द २०७४ सालमा एमालेबाट बेदकोट नगरपालिकाका मेयर निर्वाचित नेता हुन्। धामी २०७४ मा प्रतिनिधि सभामा निर्वाचित भए पनि २०७९ मा पराजित भएका थिए। सिंह यस पटक प्रदेश सभा निर्वाचनमा पराजित भएका हुन्।
महिला तर्फ सिफारिस भएकी पार्वती जोशी २०७९ मा बेदकोट नगर उपमेयर पदमा पराजित भएकी थिइन्। यस पटक भने उनले पार्टी जिल्ला अध्यक्ष लक्ष्मी बुढालाई पराजित गर्दै प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा नाम सुरक्षित गरेकी छन्।
एमाले कञ्चनपुर क्षेत्र–२ को यो निर्वाचनले आन्तरिक लोकतन्त्र र नेतृत्व प्रतिस्पर्धाको स्पष्ट संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
