विरेन्द्र बाग: पौष २१ , बझाङ जिल्लामा रोचक राजनीतिक संयोग देखिएको छ। काठमाडौँस्थित त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका तीन नेताहरू जिल्लाबाट तीन प्रमुख दलको तर्फबाट प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएका छन्।
नेकपा (एमाले) बाट ऐन महर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट कमल थापा र नेपाली काँग्रेसबाट दिपेन्द्र जोशी प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन्। तीनै जनाले एउटै क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरे पनि अहिले फरक–फरक राजनीतिक धारबाट संसदीय यात्राको तयारीमा छन्।
विद्यार्थी कालदेखि नै सक्रिय राजनीति गरेका यी नेताहरूले आ–आफ्नो दलमा विभिन्न जिम्मेवारी सम्हाल्दै जिल्लास्तरदेखि केन्द्रसम्म राजनीतिक पहिचान बनाएका छन्। एउटै शैक्षिक थलोबाट राजनीतिक यात्रा सुरु गरेका नेताहरू फरक दलबाट एउटै निर्वाचन क्षेत्रका लागि सिफारिस हुनु बझाङको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।
आगामी निर्वाचनमा यी नेताहरू प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने सम्भावनाले बझाङको चुनावी राजनीति थप रोचक बन्ने विश्लेषण गरिएको छ। जिल्लामा पुराना राजनीतिक सम्बन्ध, विद्यार्थी कालको सहयात्रा र वर्तमान दलगत प्रतिस्पर्धाले चुनावी माहोल तातिने देखिएको छ।
