जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको मृत्यु भएपछि घटनाले गम्भीर प्रश्न खडा गरेको छ। घटनाको निष्पक्ष, पारदर्शी र स्वतन्त्र छानबिनको माग गर्दै मृतकका आफन्त तथा स्थानीयवासी आक्रोशित भएका छन्।
वीरेन्द्रनगर–१०, पिपिरा निवासी बक्स चोरीको आशंकामा प्रहरी नियन्त्रणमा रहेका बेला मृत्यु भएको जनाइएको छ। हिरासतमै एक युवाको मृत्यु भएपछि घटनाको वास्तविकता सार्वजनिक गर्न दबाब बढ्दै गएको छ।
मृतकका आफन्तका अनुसार बक्सको छाती, मुखभित्र, खुट्टा लगायत शरीरका विभिन्न भागमा चोटपटकका चिन्ह देखिएका थिए। उनीहरूले बक्समाथि लगाइएको चोरीको आरोपसँग सम्बन्धित कुनै सामानसमेत बरामद नभएको दाबी गरेका छन्।
घटनापछि आफन्त, स्थानीयवासी तथा सरोकारवालाहरूले हिरासतमा रहेका व्यक्तिको मृत्यु सामान्य विषय नभएको भन्दै सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र अनुसन्धानको माग गरेका छन्। दोषी देखिए कानुनी कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ।
स्थानीयवासीहरूले छानबिन प्रक्रिया निष्पक्ष नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।
घटनाबारे सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानको निष्कर्षपछि मात्रै स्पष्ट हुने जानकारी दिनु भएको छ।
शरीरमा चोटपटक देखिएको भन्ने विवरण मृतकका आफन्तहरूको दाबीमा आधारित हो। घटनाको आधिकारिक पुष्टि पोस्टमार्टम प्रतिवेदन तथा सम्बन्धित निकायको अनुसन्धानपछि मात्र हुनेछ प्रहरीले जानकारी दिनु भएको छ।

