विरेन्द्र बाग:काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रति लक्षित गर्दै कडा प्रश्न उठाएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई बालेन शाहको टोलीले करिब ९ घण्टासम्म रोकिएको घटनाप्रति आपत्ति जनाउँदै, “अख्तियारको टोलीलाई ९ घण्टा थुन्ने बालेन को हुन् ? कानुनभन्दा माथि कोही हुन सक्छ ?” भन्दै आक्रोश व्यक्त गरिन्।
उनले संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने वा कानुनी प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य कुनै पनि बहानामा स्वीकार्य नहुने बताइन्। लोकतान्त्रिक शासन व्यवस्थामा सबै व्यक्ति र संस्था कानुनको दायराभित्र रहनुपर्ने उल्लेख गर्दै उनले घटनाबारे सरकारको स्पष्ट धारणा माग गरिन्।
ओलीले लोकप्रियता वा जनमतका आधारमा कसैले पनि कानुनभन्दा माथि रहने छुट नपाउने बताउँदै राज्यका निकायहरूको सम्मान र कानुनी शासनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखिन्।
संसदमा उनको अभिव्यक्तिपछि उक्त विषयले थप चर्चा पाएको छ भने घटनाबारे सम्बन्धित निकायहरूको प्रतिक्रिया आउन बाँकी रहेको छ।

