News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ

काठमाण्डौ ।

झापा –  सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिनुभयो । खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने उहाँको भनाइ छ ।

खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा रु दुई करोड छ लाख आठ हजार ३८३ ऋण निकालेर फरार भएका थिए । विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष ट्कप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिनुभएको थियो ।

पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य छन् । सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि त्यसपछि अध्यक्ष चयन हुनुभएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताउनुभयो ।

झापा जिल्ला अदालतबाट विसं २०७९ मङ्सिर १४ गते उक्त मुद्धाका पाँच जना आरोपीका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो । खनालकी बहिनी विर्तामोड नगरपालिका–२ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका–८ निवासी अनन्तजीवन लुइँटेल पक्राउ परेका थिए ।

अदालतको आदेश बमोजिम रु एक लाख ५० हजार धरौटीमा गोमा खनाल भण्डारी र रु ७५ हजार धरौटीमा अनन्तजीवन लुइँटेल तारेखमा छुटेका थिए । अहिले खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

झापामा सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेका अन्य सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्जस्थित सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई रु तीन करोड ३५ लाख ४०० हिनामिना गरेको अभियोगमा गत चैतमा प्रहरीले पक्राउ गरेको थियो । भुजेलविरुद्ध सम्बन्धित सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो ।

यसैगरी, शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई सहकारीको बचत अपचलन गरेको अभियोगमा गत कात्तिकमा पक्राउ परेका थिए ।

अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईले मिलेमतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत रु एक करोड ३९ लाख ७७० हिनामिना गरेको भनी प्रहरीमा जाहेरी परेको थियो । हाल यो मुद्धा झापा जिल्ला अदालतमा विचाराधीन रहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.