विरेन्द्र बाग:बझाङ, वैशाख ३१ — बझाङको बुंगल नगरपालिका–८ मा खेत जोत्ने क्रममा ५०० मिटर तल खसेर एक किसानको ज्यान गएको घटनापछि स्थानीय बासिन्दाले प्रशासन र जनप्रतिनिधि माथि गम्भीर प्रश्न उठाएका छन्। मृतक ५५ वर्षीय सुका ऐडीको परिवार र गाउँलेहरूले राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्।
घटना मंगलबार बिहान भएको भए पनि पीडित परिवारले अहिलेसम्म राहत वा सहानुभूतिको अनुभूति गर्न नसकेको बताएका छन्। “कृषिमा जीवन खपाइरहेका किसानको सुरक्षाको व्यवस्था नगरी राज्य कुन मुहार हेरेर बसेको हो?” स्थानीय अगुवा हरिकृष्ण ऐडीले भने।
प्रहरीले सुरु गर्यो अनुसन्धान:
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। “दुर्घटना दुर्गम भौगोलिक अवस्थाका कारण भएको देखिन्छ, तर विस्तृत विवरण आउन बाँकी छ,” प्रहरी निरीक्षक देवराज भण्डारीले जानकारी दिए।
स्थानीय सरकार मौन:
घटनापछि स्थानीय जनप्रतिनिधि र बुंगल नगरपालिकाले कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। घटनास्थलको निरीक्षण गर्न न जनप्रतिनिधि पुगेका छन्, न त नगरपालिकाले राहत घोषणा गरेको छ।
कृषिमा यान्त्रिकीकरणको माग:
स्थानीय नागरिक समाजका अगुवाहरूले यस्ता दुर्घटना न्यूनीकरण गर्न कृषि क्षेत्रमा यान्त्रिक उपकरणहरू प्रयोगमा ल्याउन र कृषकहरूको बीमा अनिवार्य गर्न माग गरेका छन्।
पीडित परिवारको अवस्था नाजुक:
मृतक सुका ऐडी परिवारका एकमात्र कमाउने सदस्य थिए। अहिले उनका परिवारमा जीविकोपार्जनको संकट उत्पन्न भएको छ। “राज्यले अब पनि चासो नदेखाए, हामी बाध्य भएर आन्दोलनमा जान सक्छौं,” पीडित परिवारले चेतावनी दिएको छ।

