News7 TV
बुधबार, बैशाख २, २०८३ | April 15, 2026 |

डौड गाउँको गौरव: “भङाडा सर”ले  बनाएको शिक्षा

काठमाण्डौ ।

विरेन्द्र बाग: बझाङ बुङ्गल नगरपालिकाको शान्त पहाडी भेग डौड गाउँबाट उठेको एउटा नाम—खडक बहादुर बाग। चार दशकसम्म पुस्ता–पुस्तालाई उज्यालो बाँड्ने यो नाम वि.सं. २०४६ देखि २०८२ सालसम्म करिब ३६ वर्ष निरन्तर शिक्षाक्षेत्रमा समर्पित रहेर विद्यमान छ। बिहीबार उहाँले औपचारिक रूपमा अध्यापन सेवाबाट विदावारी लिनुभयो। तर यो विदावारी सामान्य अवकाश मात्र थिएन—यो त गाउँ, विद्यालय र समाजको शैक्षिक इतिहासमा कोरिएको एक अमिट अध्याय थियो।

 

सीताराम माध्यमिक विद्यालयलाई कर्मथलो बनाएर उहाँले शिक्षा केवल पाठ्यपुस्तकका अक्षरहरूमा सीमित राख्नुभएन; अनुशासन, इमानदारी, समयपालन र नैतिकतालाई जीवनको पाठमा रूपान्तरण गर्नुभयो। कक्षा कोठामा उहाँको उपस्थितिले डर होइन, जिम्मेवारी र आत्मअनुशासन जन्माउँथ्यो। कठोर अनुहारभित्र लुकेको माया र भविष्यप्रतिको चिन्ताले उहाँलाई विद्यार्थीहरूको जीवनमा अविस्मरणीय बनायो।

 

गल्ती गर्नासाथ  “भङाडा सर” भनेर डराउने ती विद्यार्थीहरू बिहीबार विदाइका क्षणमा गहभरी आँसु लिएर उभिएका थिए। त्यो आँसु डरको होइन; आदर, कृतज्ञता र जीवन बदलिदिएको गुरुप्रतिको मौन प्रेमको साक्षी थियो। शिक्षकले बोलेका शब्दभन्दा बढी, आचरणले सिकाएको पाठ कति गहिरो थियो भन्ने त्यही दृश्यले प्रमाणित गर्‍यो।

 

विद्यार्थीहरूको मनमा बसेको आदर र श्रद्धा केवल विद्यालयसम्म सीमित रहेन। आज उहाँले पढाएका विद्यार्थीहरू निजामती सेवादेखि विभिन्न सार्वजनिक निकायमा देशको सेवा गरिरहेका छन्। केही त उही विद्यालयमा शिक्षक बनेर ज्ञानको दीप बालिरहेका छन्। यो उपलब्धि व्यक्तिगत सफलताको सूची मात्र होइन—पुस्तान्तरणीय शिक्षाको निरन्तरता हो, जसको जरा खडक बहादुर बागकै कक्षाकोठाबाट फैलिएको छ।

 

विद्यालयको चौघेराभन्दा बाहिर पनि उहाँ शिक्षक मात्र होइन—समाज सुधारक, अभिभावक र मार्गदर्शकका रूपमा चिनिनुभयो। बालबालिकालाई विद्यालयसम्म ल्याउने अभियान, अभिभावकलाई शिक्षाको महत्व बुझाउने निरन्तर प्रयास, विद्यालय नछोडून् भनेर गरिएको व्यक्तिगत पहल—यी सबै उहाँको सेवाभाव र समर्पणका उदाहरण हुन्।

 

बिहीबार विहान, खडक बहादुर बाग आगन वरिपरि दुई–तीन पटक घुम्दै जीवनका ती क्षण सम्झिदै हुनुहुन्थ्यो। उहाँलाई थाहा थियो—आज मैले झण्डै चार दशकसम्म सेवा दिँदै जीवनको अमूल्य समय विताएको शैक्षीक संस्थाबाट विदाई हुँदै छ भन्ने! ४ भाई मध्ये कान्छा भए पनि, उहाँ घर मात्र होइन, गाउँकै विश्वासको प्रतीक हुनुहुन्थ्यो। कुनै चिठ्ठी आए पनि “भङ्गाड सरको घर जानु पर्छ” भनी सबैलाई आदरसाथ सुनाउनुहुन्थ्यो।

 

उहाँको सपना केवल व्यक्तिगत सफलता थिएन—गाउँमा प्रावि देखि मावि सम्मको विद्यालय स्थापना गर्नु, सन्तानलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु, दुर्गम पहाडी भेगमा शिक्षा फैलाउनु। पैदल दुई–चार दिन हिंडेर सिलगढी डोटी–दीपायल, एक–दुई दिन लगाएर सदरमुकाम चैनपुरसम्म जानु, उहाँको एउटै चाहना थियो “हाम्रो गाउँमै शिक्षा सिक्ने अवसर मिलोस्।”

 

उहाँले विद्यालयमा कक्षा कोठाभित्रको जिम्मेवारी मात्रै नभई विद्यालयकै प्रमुख जिम्मेवारी पनि सम्हाले। गाउँमा मासजी, भङ्गाड सर भनेर चिनिनु, मात्र होइन—समाजमा शिक्षा र नैतिकताको दीप बाल्ने अभूतपूर्व कार्य उहाँले गर्नुभयो।

 

विदावारी समारोह आँसु, ताली र सम्मानले भरिएको थियो। शिक्षक, विद्यार्थी र अभिभावकहरू भावुक थिए। वक्ताहरूले उहाँलाई “ज्ञानका दीप, अनुशासनका स्तम्भ र समाज निर्माणका मौन अभियन्ता” भनेर सम्झिए। विद्यालय परिवारले उहाँको दीर्घ अध्यापन यात्रालाई उच्च मूल्याङ्कन गर्दै निवृत्त जीवन प्रेरणा र मार्गदर्शनले भरिएको रहोस् भन्ने कामना गर्‍यो।

 

खडक बहादुर बाग एक नाम मात्र होइन, एउटा युग।

उहाँले बाल्नुभएको शिक्षाको उज्यालो अब केवल कक्षाकोठामा मात्र होइन, समाजको चेतनामा फैलिसकेको छ। चार दशकको सेवा, हजारौँ जीवनमा छाप यही हो एक साँचो शिक्षकको पहिचान हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.