
विरेन्द्र बाग: कञ्चनपुर, साउन १६ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुरको नयाँ जिल्ला कार्यविभाजन सम्पन्न भएको छ। केन्द्रीय समितिबाट सार्वजनिक गरिएको कार्यविभाजन सर्कुलर–२०८२ अनुसार कञ्चनपुरको संयोजक जिम्मेवारी विक्रम थापा लाई दिइएको छ।
थापालाई जिल्लामा संगठन सुदृढीकरण, नीतिगत मार्गनिर्देशन तथा नेतृत्व समन्वयको मुख्य जिम्मेवारी दिइएको छ। अनेरास्ववियुका केन्द्रीय तहबाट जारी सर्कुलर अनुसार संगठनलाई थप क्रियाशील, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले उक्त जिम्मेवारी तोकिएको हो।
थापासँगै पाँचजना सह–संयोजकहरू पनि नियुक्त गरिएको छन्, जसले संगठनको सामूहिक नेतृत्व प्रणालीलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। सह–संयोजकका रूपमा दीपकराज अवस्थी, देव साउद, नन्दराज जोशी, बाशुदेव भट्ट, र यशोदा रेग्मी लाई जिम्मेवारी दिइएको छ।
यी सह–संयोजकहरू विभिन्न शैक्षिक संस्था, विद्यार्थी अभियान तथा आन्दोलनहरूमा सक्रियता, अनुभव र कार्यदक्षताको आधारमा चयन गरिएको स्रोतले जनाएको छ। उनीहरूले संयोजक थापासँग सहकार्य गर्दै संगठनको कार्यक्रम, आन्दोलन र संगठन विस्तारमा योगदान पुर्याउनेछन्।
यसैगरी, अनेरास्ववियुले कञ्चनपुर जिल्लाको इन्चार्जको जिम्मेवारी यशु थापालाई दिएको छ। थापालाई केन्द्रीय निर्देशनअनुसार जिल्ला संयोजन, मार्गनिर्देशन र संगठनको सम्पूर्ण संरचनात्मक र राजनीतिक कार्यको निगरानी तथा समन्वयको जिम्मेवारी दिइएको छ।
केंद्रीय कमिटीमार्फत गरिएको यो जिम्मेवारी बाँडफाँटले अनेरास्ववियु कञ्चनपुरलाई थप गति दिने विश्वास गरिएको छ।
शैक्षिक अधिकार, लोकतान्त्रिक विद्यार्थी आन्दोलन र समाजवादी विचारधाराको सशक्त प्रवाह गर्न विद्यार्थीहरूमाझ कार्य गर्ने उद्देश्यले नवगठित टिमले छिट्टै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा समेत रहेको जानकारी दिनु भएको छ।

