काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि बिमस्टेकको साइडलाइन वार्ताका रूपमा ओली र मोदीबीच भेट भएको हो ।
नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ । तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल र त्यसअघि शेरबहादुर देउवाले भारत भ्रमणको अवसर पाएका थिए । ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ ।
पनि थाइल्यान्डमा ओली र मोदीको भेटलाई बहुप्रतीक्षित भेटघाटका रूपमा हेरिएको थियो । प्रधानमन्त्री भएको तीन महिनाभित्रै ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ताको अवसर पाएका थिए । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान साइडलाइन भेटवार्ता भएको हो । त्यसपछि ओली र मोदी बिमस्टेकको मञ्चमा भेटेका हुन् ।

