विरेन्द्र बाग:काठमाडौ, चैत्र २२| नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीहरूलाई राज्यले हतोत्साहित तथा अपमानित गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले इमान्दारीपूर्वक राष्ट्रको सेवा गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्नुको सट्टा उल्टै अपमानित गरिने अवस्थाले दक्ष र योग्य जनशक्तिहरू निरुत्साहित हुने चेतावनी दिए।
उनले भने, “देश र जनताको लागि समर्पित भएर काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्नुको सट्टा हतोत्साहित गरिन्छ भने कसरी देश अघि बढ्छ?” उनले निष्पक्ष र परिणाममुखी काम गर्ने वातावरण सिर्जना नगरेसम्म समृद्धिको सपना साकार नहुने धारणा राखे।
ऊर्जा क्षेत्र सुधार, लोडसेडिङ अन्त्य, र संस्थागत पारदर्शिता कायम गर्न घिसिङको योगदानलाई विगतमा व्यापक रूपमा प्रशंसा गरिएको थियो। उनले राष्ट्रसेवक कर्मचारीप्रतिको व्यवहारले शासन प्रणालीमै प्रश्न उठ्ने खतरा रहेको पनि उल्लेख गरे।
उनको पछिल्लो अभिव्यक्तिले राज्य प्रणालीभित्र कार्यरत इमान्दार कर्मचारीहरूका लागि आत्मचिन्तन र नीतिगत सुधारको खाँचो औंल्याएको देखिन्छ।

