News7 TV
बुधबार, बैशाख २, २०८३ | April 15, 2026 |

गेटामा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ को स्थापना : सुदूरपश्चिमको सपना साकार

काठमाण्डौ ।

विरेन्द्र बाग: कंचनपुर, जेठ ४  । वर्षौंदेखि स्वास्थ्य शिक्षा र सेवाबाट वञ्चित रहँदै आएको सुदूरपश्चिम प्रदेशका जनताको दीर्घकालीन सपना अन्ततः साकार भएको छ। प्रतिनिधिसभाले २०८२ जेठ ४ गते पारित गरेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयकसँगै कैलालीको गेटामा देशकै नयाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको कानुनी आधार तय भएको हो।

यो विश्वविद्यालय सुदूरपश्चिम प्रदेशको पहिलो संघीय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा अघि बढ्नेछ, जसले चिकित्सा शिक्षा, अनुसन्धान र स्थानीय स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

संघर्ष र सफलताको सेरोफेरोमा…

यो विश्वविद्यालय सिधै संसदको निर्णय मात्र होइन, सडक र सदन दुवैतर्फ लामो संघर्षको परिणाम हो। प्रतिनिधिसभाको स्वास्थ्य तथा सूचना प्रविधि समितिमा तत्कालीन सदस्यका रूपमा कार्यरत एक नेताले गेटामा मेडिकल कलेज वा प्रतिष्ठान नभई सिधै स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्नुपर्ने माग राख्दै समितिमा औपचारिक निवेदन दिएका थिए।

त्यसपछि २०७९ असार २६ र २७ गते सांसद योगेश भट्टराईको नेतृत्वमा उपसमिति गठन गरियो, जसमा सांसद मानबहादुर विश्वकर्मा, चित्रलेखा यादव, नविना लामा र अञ्जना विशंखे सहभागी थिए। स्थलगत भ्रमण, सरोकारवालासँग छलफल र सिफारिसपश्चात सो उपसमितिले गेटामा विश्वविद्यालय स्थापनाको स्पष्ट सुझावसहित निर्णय पेश गरेको थियो।

किन आवश्यक थियो विश्वविद्यालय?

नेपालमा सन् १९७२ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘इन्स्टिच्युट अफ मेडिसिन (IOM)’ स्थापना भएदेखि औपचारिक रूपमा चिकित्सा शिक्षाको यात्रा सुरु भयो। तर ५३ वर्षसम्म सुदूरपश्चिम यस सेवा र शिक्षाबाट टाढै रह्यो।

हाल देशभर २१ मेडिकल कलेज, ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान, र झन्डै १५० भन्दा बढी नन-क्लिनिकल स्वास्थ्य शिक्षण संस्थाहरू रहेका छन्। तर तिनमध्ये कुनै पनि संस्था सुदूरपश्चिममा प्रभावकारी रूपमा क्रियाशील थिएन। गेटा मेडिकल कलेज स्थापना भएको दशक बितिसक्दा समेत संरचनात्मक अस्पष्टता, बजेटीय अभाव र कानुनी आधारको अभावले सो संस्था अलपत्र थियो।

अब के हुन्छ?

यो विश्वविद्यालय स्थापना भएसँगै केही ठोस योजनाहरू कार्यान्वयन हुने तय छ:

१. गेटामा सञ्चालन हुने ३०० शैय्याको शिक्षण अस्पताल मार्फत आगामी शैक्षिक सत्रदेखि एमबिबिएस कार्यक्रम सुरु गरिनेछ। त्यसपछि थप ३०० शैय्या सहित ६०० शैय्याको अस्पताल बनाइ एमडि, एमएस (मास्टर्स लेभल) कार्यक्रम सञ्चालन गरिने योजना छ।

२. सुदूरपश्चिम प्रदेश सरकारद्वारा हाल सञ्चालनमा रहेका सेती, महाकाली र टीकापुर अस्पतालहरूलाई संघीय सरकारलाई हस्तान्तरण गरी १०० शैय्याका अस्पतालमा स्तरोन्नति गरिनेछ, जसलाई विश्वविद्यालयका आङ्गिक कलेज बनाइ नर्सिङ, फार्मेसी, फिजियोथेरापी लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

३. सुदूरपश्चिमका जनजातीय, थारु, शौका लगायतका समुदायको मौलिक चिकित्सा पद्धति, जडीबुटी र आयुर्वेद विषयमा अनुसन्धान गर्ने गरी विश्वविद्यालयलाई ज्ञान र आविष्कारको केन्द्र बनाइनेछ।

४. विदेशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरूलाई विशेष सुविधासहित आमन्त्रित गरी विश्वविद्यालयमा पठनपाठन र अनुसन्धानमा संलग्न गरिने योजना बनाइएको छ।

५. विश्वविद्यालय स्थापना संगै अन्तर्राष्ट्रिय स्वास्थ्य विश्वविद्यालयहरूसँग सहकार्य गरी दक्षिण एसिया कै उदाहरणीय स्वास्थ्य संस्था बनाउने दीर्घकालीन लक्ष्य लिइएको छ।

गेटामा स्थापना भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ सुदूरपश्चिम मात्र होइन, समग्र देशको स्वास्थ्य शिक्षाको इतिहासमा नयाँ अध्याय हो। यो सहिदको नाममा स्थापित संस्था जनताको विश्वास, संघर्ष र आकांक्षाको प्रतिफल हो। अब चुनौती रहनेछ—यसलाई सही दिशामा, समावेशी, गुणस्तरीय र अनुसन्धानमुखी बनाउँदै राष्ट्रकै गौरवमयी शिक्षण केन्द्र बनाइने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.