सन्तोष धानुक: दार्चुलाका अमरबहादुर बम २१ वर्षभन्दा बढी समयदेखि संयुक्त अरब इमिरेट्स (युएइ) को जेलमा निर्दोष भएर थुनिएका छन्। वास्तविक दोषीहरूले अदालतमै “अमर निर्दोष छन्, उनी ड्राइभर मात्र” भनेर स्वीकार गरिसक्दा पनि, बममाथि मृत्युदण्डकै फैसला कायम रहँदा नेपाल सरकारले प्रभावकारी कूटनीतिक पहल नगरेको आरोप बढ्दै गएको छ।
२०३३ साल मंसिर ५ गते जन्मिएका बम दार्चुलाको धारी-५ बाट अत्यन्तै कमजोर आर्थिक पृष्ठभूमिबाट रोजगारीको खोजीमा भारत पुगेका थिए। विवाह भएको कठै एक महिनामा नै परिवार धान्न भारत छिरेका उनी गाडी चालक पेशामा स्थापित भइसकेका थिए। त्यही क्रममा भारतीय साथीहरूको प्रलोभनमा परी उनी सन् २००३ मा युएइ पुगे—तर त्यही यात्रा उनको जीवनकै सबैभन्दा ठूलो त्रासदी बन्यो।
युएइ पुगेको केही समयमै स्थानीय दुई भारतीय नागरिकले गरेको हत्या प्रकरणमा अमरलाई झूटो बयान र योजनाबद्ध षड्यन्त्रमार्फत मतियार को रूपमा फसाइयो।
वास्तविक अपराधीहरूले अदालतमा नै अमर निर्दोष रहेको खुल्ला स्वीकारोक्ति दिँदा पनि युएइको सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सुनाउँदै उनलाई जेल पठायो।
अमरका परिवारले नेपाल सरकार, विभिन्न निकाय र कूटनीतिक कार्यालयमा वर्षौंदेखि गुहार मागिरहे पनि सुनुवाइ हुन सकेको छैन। विदेशमा समस्यामा परेका श्रमिकको उद्धारमा सक्रिय देखिने सरकार अमरबहादुरको मामिलामा भने असाधारण मौन र उदासीन रहेको परिवारको आरोप छ।
२१ वर्षदेखि जेलका कठोर पर्खालभित्र निर्दोष साबित गर्ने प्रमाण र बयान हरपल घोत्लिँदै बसेका अमर—र घरमा रोजै आशा–निराशाको चक्रमा अड्किएको उनीहरूको परिवार।
मानवअधिकारकर्मी र प्रवासी नेपाली समुदायले सरकारलाई क्षमा प्रक्रिया, कानुनी पुनरावलोकन, उच्चस्तरीय कूटनीतिक दबाबका सबै सम्भावित विकल्प तुरुन्तै प्रयोग गर्न आग्रह गर्दै आएका छन्।
देश–विदेशबाट अहिले उठ्न थालेको एक मात्र प्रश्न “निर्दोष अमरबहादुर बम २१ वर्षपछि कहिले घर फर्कन पाउँछन्?”

