
गृहमन्त्रीको शपथ लिएको एक महिना पनि नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङ विवादमा तानिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा रहेका दीपक भट्टसँग उनको व्यावसायिक सम्बन्ध देखिएको विवरण सार्वजनिक भएपछि राजनीतिक तथा कानुनी प्रश्न उठेका छन्।
‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा गुरुङ र भट्टबीच साझेदारी रहेको विवरण बाहिरिएसँगै उनको आर्थिक सम्बन्धबारे शंका बढेको हो। बिचौलियाका रूपमा चिनिएका भट्टसँगको कनेक्सन सार्वजनिक भएपछि विषय थप गम्भीर बनेको छ।
यसैबीच रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सेयर लगानीकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएका छन्। तर उनले अनुसन्धानबाट गैरकानुनी गतिविधि प्रमाणित भए जोसुकै भए पनि पार्टीले कारबाही गर्ने स्पष्ट पारेका छन्।
बुर्लाकोटीले भने, “लगानी गैरकानुनी हो वा होइन भन्ने विषयमा पार्टीले सम्बन्धित व्यक्तिसँग छलफल गर्छ। आवश्यक परे सरकारी निकायले अनुसन्धान गर्छ। दोष प्रमाणित भएमा कारबाही हुन्छ।”
