कन्चनपुर,फागुन ५। नेपालको पहाडी तथा हिमाली भेगमा पानीको स्रोतका रूपमा रहेका न्वालोहरू अहिले लोप हुने अवस्थामा पुगेका छन्। विशेष गरी सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, दार्चुला, बझाङ, बाजुरा, डोटी लगायतका पहाडी जिल्लाहरूमा, जब धाराको सुविधा सीमित थियो, न्वालो स्थानीयहरूको प्रमुख जलस्रोत थियो। प्राकृतिक मूलबाट बग्ने पानी सङ्कलन गर्ने यी परम्परागत संरचनाहरू आज उपेक्षित अवस्थामा छन्।
“न्वालो” मूलबाट निस्किएको पानीलाई सङ्कलन गरेर सफा रूपमा भण्डारण गर्ने ठाउँ हो। परम्परागत रूपमा ढुङ्गा, माटो, काठ वा सिमेन्ट प्रयोग गरी बनाइने यस्ता संरचनाले स्वच्छ पानी उपलब्ध गराउने मात्र नभई वातावरणीय सन्तुलन कायम राख्न पनि मद्दत गर्थे। न्वालो प्राकृतिक रूपमा बग्ने पानीको स्रोत भएकाले शुद्ध मानिन्थ्यो। यसमा सञ्चित पानी स्वास्थ्यका लागि हानिकारक हुँदैनथ्यो, किनभने यो जमिनको भित्रबाट निस्कने पानी हुन्थ्यो, जसले प्राकृतिक रूपमा छान्ने काम गरिन्थ्यो।
न्वालो स्थानीय जलचक्रको महत्त्वपूर्ण हिस्सा थियो। यसको संरक्षणले भूगर्भीय पानीको सतहलाई सन्तुलित राख्थ्यो। तर, अहिले प्लास्टिक पाइपबाट अनियन्त्रित रूपमा पानी तान्ने प्रवृत्तिले पानीका प्राकृतिक स्रोतहरू सुक्दै गएका छन्। गाउँघरमा न्वालो पानी मात्र होइन, भेटघाट गर्ने थलो पनि थियो। स्थानीयहरू बिहान-बेलुका पानी भर्न जाने क्रममा आपसी कुराकानी, मेलमिलाप गर्ने गर्थे। यो परम्परा हराउँदै जाँदा सामाजिक सम्बन्धमा पनि असर परिरहेको छ।

