रवीपत्नी निकितापौडेल लामिछानेले फेसबुककोे भित्तामा भावुक स्टाट्स लेखेकी छिन्। ९ गते, शुक्रबार – सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन। कानून, न्याय र संविधानप्रतिको गहिरो विश्वास बोकेर म तेस्रो दिन पनि अदालत पुगेको थिएँ। बहस उत्कृष्ट भयो, हाम्रा कानुन व्यवसायीहरूले बेञ्चका सबै प्रश्नको तथ्यपूर्ण जवाफ दिएका थिए। लाग्यो, अब अन्याय हुनेछैन। विश्वास अझै बलियो भएको महसुस गरेको थिएँ।
तर, करिब दुई बजे बहस सकियो। आदेश कुर्दाकुर्दै सात घण्टा बित्यो। प्रवक्ता ‘एकछिनमा आउँछु’ भनेर बाहिरिनु भयो, तर फर्किनु भएन। म अदालतमै थिएँ, प्रवक्ताको कार्यकक्षमै थिएँ – तर आदेश बाहिरबाट थाहा पाउनुपर्यो। कान्तिपुर अनलाइनले ‘नेगेटिभ’ समाचार लेखिसकेको रहेछ। म निवेदक, म अदालतमा, तर न्यायालयको आदेश मभन्दा पहिला बाहिर? यो कस्तो प्रक्रिया? कस्तो न्याय? अदालत प्रशासनको यत्रो गैरजिम्मेवारी?
मान्छेहरूसँग कानूनको डर हुन्छ भन्ने सुनेको थिएँ, तर आज लाग्यो – अब अदालतप्रतिको विश्वास नै डरमा बदलिँदो रहेछ।
पानी परिरहेको थियो, मन पनि भिजेको थियो – रित्तो हात, भारी मन लिएर अदालतबाट निस्किएँ। त्यो रात तनाब, अनिन्द्रा र रुवाईले बित्यो। जिन्दगीकै एक अत्यन्तै कठिन दिन।
भोलिपल्ट भैरहवा जानुपर्ने थियो, गएँ। म अन्यायको शिकार, तर जबरजस्ती आफूलाई तंग्र्याएर उहाँको अगाडि पुगेँ। कसरी हिंडें, कसरी होसमा आएँ – थाहा छैन।
मेरो श्रीमानविरुद्ध कुनै ठोस प्रमाण नभेटिँदा पनि मुद्दा लगाइयो। नियत राखेर थुनियो। रिटमा अदालतले एक शब्द पनि बोलेन।
अब म न्याय माग्न कहाँ जाऊँ? कसलाई गुहार गरूँ?
गणतन्त्रमा पनि न्याय र मानवता मृत भेटिएपछि, मभित्रको विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि उभिन्छ कि सदाका लागि ढल्छ।

