सन्तोष धानुक : कंचनपुर ,असार ८ श्रीमतीको घाटिको तिलहरी लिलाममा राखेर, बाउबाजेले बनाएको पुर्जा धितो राखेर, घर छोडेर, गाउँको गोरेटो बाटो हुँदै सहर र त्यसपछि परदेश जान बाध्य भएका ती नेपाली युवाहरुका सपना अहिले पसिनामा होइन, आँसुमा बगिरहेका छन्।
हिजो गाउँलेका हाँसो, पञ्चेबाजाका धुन अनि आफ्नो जमिनमा बारी जोत्न पाइने सुख — ती सबै अहिले परदेशी पर्खालमा टाँसिएका पुराना फोटोझैं धुम्मिएका छन्।
श्रमको शोषण, सपनाको विसर्जन
वास्तवमा उनीहरू स्वेच्छाले होइन, बाध्यताले परदेशिएका हुन्। बुवाको उपचार गर्न, छोराछोरीको पढाइ खर्च तिर्न, घरको ऋण चुक्ता गर्न, श्रीमतीको सिंदूर जोगाउन अनि समाजमा “काम नगरेको” भनेर चित्त दुखाउने आलोचनालाई चुँड्न उनीहरू विदेशिएका हुन्।
तर ती सपना जुन सुनको देश भनेर उनीहरू हिँडेका थिए, त्यहाँ पुगेर सुन होइन, पसिना बेच्नु पर्यो।
श्रमको उचित मूल्य छैन। भाषा थाहा छैन, अधिकार थाहा छैन। न त त्यहाँ सुनुवाइ छ।
गाउँमा बाँकी रहेकाहरूको बन्धन
परदेशीको मात्रै होइन, गाउँमै रहेका आमा–बुवा, श्रीमती, छोराछोरीहरूको पीडा पनि उस्तै गहिरो छ। साहुको ऋण तिर्न नसकेर गाली सुन्नुपर्ने, छोराले पठाएको पैसा समयमै नआएर सस्तो चामल र बेसारमा गुजारा चलाउनुपर्ने अवस्था छ।
श्रीमतीले राती ढोकामा पर्खेर निदाउने बानी बसाएकी छन्। छोरा बाबुको मुख बिर्सन थालेको छ।
नेता र सरकारको मौनता — अपमानजनक चुप्पी
गाउँबाट मत माग्न जाँदा रुँदै भनेका ती युवाले “यो देशमै रोजगारी चाहिन्छ” भनेका थिए।
तर सरकार बदलियो, मन्त्री फेरिए तर नीतिहरू पुरानै रहे। ‘रोजगार बोर्ड’, ‘श्रम मन्त्रालय’, ‘विप्रेषण सशक्तीकरण नीति’ जस्ता भाषणमा सिमित नाराहरू यथास्थानमै छन्।
सरकार मौन छ। नेताहरु कमिसनमा रमाइरहेका छन्।
समाधानको बाटो — नीति होइन, इमान चाहिन्छ
देशभित्र रोजगारी सिर्जना नगरेसम्म युवाहरू परदेशिने क्रम रोकिँदैन। कृषि, पर्यटन, सूचना प्रविधि, निर्माणजस्ता क्षेत्रमा लगानी बढाएर उनीहरूलाई देशमै बस्न सकिने वातावरण बनाउन सकिन्छ।
प्राविधिक शिक्षा र उद्यमशीलतालाई जोड दिएर गाउँमै सीपको प्रयोग गर्न सकिन्छ।
त्यसबाहेक, विदेश गएकाहरूको श्रमको सुरक्षा सुनिश्चित गर्न दुईपक्षीय श्रम सम्झौताहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ।
अन्त्यमा – एक सवाल मन्त्रीज्यूलाई
के तपाईं कल्पना गर्न सक्नुहुन्छ?
श्रीमतीको गहना बेचेर गएको त्यो युवक अस्पतालको सिँढीमा रात बिताउँछ। ऊ फर्किँदा न बुबा बाँकी छन्, न आँगनको आमाको हाँसो।
त्यो दिन आउनेछ, जब तिनले सोध्नेछन् — “हामीले दिएको मतको मूल्य यत्ति हो?”

