नेपालको लोकतान्त्रिक इतिहासमा नेताहरूको संघर्षले कहिल्यै विश्राम लिएको छैन। तर दुर्भाग्य के छ भने, त्यो संघर्ष जनताको हितका लागि होइन, सत्ताको सिँढी चढ्नका लागि हो। आज पनि देशमा यदि कोही उत्साहित छन् भने, ती तीन राजनीतिक पात्र — केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ — जसले सत्तालाई खेलमैदानको बल जस्तै बनाएका छन्।
आज उनीहरूका हरेक चाल, हरेक गठबन्धन, हरेक फुट अनि हरेक मुस्कान सत्ता सम्हाल्न र जोगाउन मात्र हो। राष्ट्रको हित, जनताको भलो, शिक्षाको सुधार, स्वास्थ्यको पहुँच, रोजगारीको सुनिश्चितता — यी त शब्द मात्रै बनेका छन्, नेताहरूका भाषण सजाउने सजावटी फूलहरू।जनताको अनुहारमा निराशा छ, आँखा थाकिसकेका छन् हेर्न, कान थाकिसकेका छन् सुन्न। तर यी नेताहरूको खेल अझ चलिरहेकाे छ। कहिले एउटाले अर्कोलाई गाली गर्छ, भोलिपल्ट त्यही गाली खानेसँग गठबन्धन गर्छ। आस्था छैन, ईमान छैन, विचार छैन — सत्ता छ, अनि लोभ छ। यही कारण ले यी सत्ताधारीकाे चाहना छ “सत्तामा हुँदा नै मर्न पाए जाती, यो त तीन दशकको धोका, घात, दोहोरिएको नाटक र असफलताको बयान हो। लोकतन्त्रको नाममा, जनताको मतको पटक पटक अपमान गरेका छन ।सत्तामा पुगेर बेपत्ता हुने नेतृत्वप्रति जनताकाे दुखेसाे दिनानुदिन बडदै छ,।
बारम्बार सरकार परिवर्तन ,नीति परिवर्तनको नाममा अविकासको स्थायित्व स्वास्थ्य सेवा निजीकरणको शिकारी जालमा ,शिक्षा पहुँचभन्दा बाहिर रोजगारी विदेश पलायनको बाध्यता,भ्रष्टाचार प्रतिस्पर्धा गरेर खाने प्रवृत्ति यस्तै खेलहरुकाे सिकार बनेकाे छ,मेराे मुलुक हामी अब सोच्नुपर्ने बेला आएको छ — हामी सधैं व्यक्तिमा आशा राख्ने कि प्रणालीमा सुधार ल्याउने? जबसम्म जनता सचेत हुँदैनन्, तबसम्म यी खेलाडीहरू सत्ता नामको मैदानमा गोल गर्दै रहन्छन्, अनि हामी दर्शक बनेर ताली मात्र बजाइरहन्छाै, सपना बाँड्ने र भोलिको आशामा जनता झुक्याउनु यिनकाे नियत रहेछ।
-एकेन्द्र सिंह धामी (एकेन जी)
शिक्षक, पत्रकार एवम् समाजसेवी युवा प्रतिनीधी

