

विरेन्द्र बाग:महेन्द्रनगर बजारको एक कुनामा, हुलमुल सडक नजिकै, कुनै ठूलो र झिलिमिली बोर्ड छैन। झ्याल ढोका साधारण छन्, भित्ताहरूमा थोरै पोस्टर छन्। तर त्यही सानो पसलभित्र पस्दा, एकजना मुस्कान बोकेका मान्छे भेटिन्छन् — यीनको आँखामा सजिएकाछन् समाज परिवर्तनका असंख्य सपना।
उनको नाम हो — मदन चन्द।
तर यो नाम केवल व्यक्तिको परिचय होइन,
यो एक दर्शन हो — सेवा, सद्भाव र सच्चाइको।
त्यो पसल केवल चिया पिउने ठाउँ होइन,
यो एउटा चेतनाको चौतारी हो।
२०५० सालदेखि सुरु भएको यात्रा:मदन चन्दले चिया पसल सुरु गर्दा त्यो सामान्य जीविकोपार्जनको माध्यम थियो। चिया बनाउन, बेचन र ग्राहकसँग गफिनुको आफ्नै लय थियो। तर २०५८ सालबाट, जब समाजमा गलत संस्कारको जरा गहिरिँदै गयो, उनले महसुस गरे — यो पसल मात्र व्यापारको केन्द्र होइन, विचार बोक्ने ठाउँ हुनसक्छ।
त्यही सोचबाट जन्मियो — “सेवा नै धर्म हो” भन्ने सोच।
उनको पसल सामाजिक परिवर्तनको सानो तर दृढ मोर्चा बन्न पुग्यो।
पसलभित्रको माहोल — जहाँ चिया मात्रै नपकाइ पसलभित्र पस्ने बित्तिकै कतै कोही विद्यार्थी आफ्नो भविष्यको बारेमा चिन्तित देखिन्छ, कोही वृद्ध समाजको पतनप्रति पीडित, कोही युवाहरू व्यसनको छायाबाट उम्किने बाटो खोजिरहेका। उनीहरूसँग मदन चन्द हुन्छन् — एक कप चिया र एक घन्टा ध्यान दिने हौसला बोकेर।
उनको पसलमा–
विद्यार्थीहरू प्रेरणा खोज्न आउँछन्,
स्थानीय नेता जनताको मन जित्न आउँछन्,
पत्रकारहरू साँचो मुद्दाको गन्ध पाउन आउँछन्,
र सामाजिक कार्यकर्ता योजना बुन्न।
पसलमा उब्जने प्रत्येक संवादले परिवर्तनको बीउ रोप्छ।
‘हेल्प नेपाल’ जस्ता अभियानको उद्गम
२०६८ सालतिरको कुरा हो — पसलमै केही युवासँग सामाजिक कामको चर्चा चल्यो। त्यही चिया गफले जन्म दियो — “हेल्प नेपाल – कञ्चनपुर” नामक सामाजिक संस्था, जसले सन् २०७० देखि व्यसनविरुद्ध, शिक्षा, स्वास्थ्य, राहत, विपद् व्यवस्थापन जस्ता अभियान चलाउन थाल्यो।
यो संस्था हो वा मदन चन्दकै विचारको विस्तार?
उनको चिया पसल विचारको गर्भगृह बन्यो। त्यहाँबाट हरेक सामाजिक अभियानको चुरो निस्कन्छ — योजनाबद्ध, विवेकी र परिवर्तनमुखी।
कस–कसले चिया पिउँछन् यहाँ?
यो प्रश्नलाई सामान्य रूपमा सोध्दा — जो आउँछन्, चिया पिउँछन्।
तर मदन चन्दको चियापसलमा चिया पिउनु अर्थ बोकेको क्रिया हो।
कसैले थकाइ मार्न,
कसैले दुःख बिर्सन,
कसैले भविष्य खोज्न,
कसैले बाटो थाहा पाउन,
अनि कसैले जीवन फेर्न।
यस पसलमा चिया पिउनु मतलब सोच्ने र सोचाइ बदल्ने काम हो।
सम्मानको गाथा
उनको सामाजिक कार्यका लागि सम्मानपत्रहरू भित्तामा टाँसिएका छन् —
कुनै विद्यालयको, कुनै सामाजिक संस्थाको, कुनै नगरपालिकाको।
तर उनी भन्छन् — “मलाई त त्यो दिनको सम्मान चाहिन्छ, जब समाज व्यसनरहित, शिक्षित र सचेत हुन्छ।”
साँच्चिकै एक अद्वितीय समाजसेवी
मदन चन्दको परिभाषा किताबमा भेटिँदैन।
उनी न संसदमा छन्, न कुनै ओहोदामा।
तर सडकका छेउबाट सामाजिक क्रान्तिको बीउ रोपिरहेका छन्।
त्यो चिया, त्यो हाँसो, त्यो विश्वास – त्यही हो उनको आन्दोलन।
अन्त्य होइन, यो सुरुवात हो…
जब तपाईं मदन चन्दको पसल जानुहुन्छ, एक कप चिया सँगै तपाईं सायद केही सोचेर फर्कनुहुन्छ। तपाईंको बोलीमा सजगता, दृष्टिमा स्पष्टता, र मुटुमा केही सानो सपना पलाउँछ।
किनभने त्यो चिया,
पानी र चिनीले बनेको मात्र होइन — सपना, सेवा र संवेदना मिसिएको स्वाद हो।
“समाज बदल्न नेता हैन, एउटा
चिया बेच्ने मान्छे पनि काफी हुन्छ — यदि उसको उद्देश्य स्पष्ट छ भने।”

