News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

पूर्वा राजाले भने- राजगद्दी त्यागेको विषयलाई कमजोरी नठानियोस्

User Photo
मङ्लबार, फाल्गुन ६, २०८१
काठमाण्डौ ।

 

 

काठमाडौं : ६ फागुन। पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले त्यागले कसैको कद सानो नहुने बताएका छन्।

 

उनले आफूहरूले राजगद्दी त्यागे पनि व्यवस्था बदलियो भन्नेहरूले अवस्था बदल्न नसकेको आरोप लगाए। अहिलेको व्यवस्थाले इतिहासलाई नास गरेर पहिचानको पनि अपमान गरिरहेको उनको आरोप छ।

 

‘प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्छ। जनताको भरोसा बढाउने प्रणाली हुनुपर्छ। आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो। व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो,’ उनले शुभकामना सन्देशमा भनेका छन्।

 

पूर्व राजा ज्ञानेन्द्रले आफूहरूले राष्ट्रको हितमा उदारता देखाए पनि अहिलेको व्यवस्थाले सबै पक्षलाई नसमेटेको आरोप लगाए। ‘हाम्रो यो नेपाल देश, भक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो। त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं। त्यत्ति मात्र होइन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं। त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन। कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो। हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं। विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटि सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस्,’ उनले भनेका छन्।

 

यस्तो छ पूर्व राजाको शुभकामना सन्देश

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

नेपालमा प्रजातन्त्रको मिरमिरे विहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्शाइबक्सने हाम्रा जिज्यू बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं । जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी छ । त्यसैले, प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि कृयाशील रहने सबैपात्रहरुप्रति पनि हामी उच्च सम्मानभाव राख्दछौं ।

 

“प्रजातन्त्र” आजको युगको उत्तम शासन पद्धति हुनु पर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधी व्यवस्था तथा मान्यता अनुसार राज्य संचालन गर्ने – सर्वमान्य आर्दश पनि हुन पर्थ्यो । यसबाट हामी कोही विमुख छैनौं । राष्ट्र भित्रका हरेकवर्ग, समूह वा व्यक्तिको हक अधिकारको संरक्षण गर्दै, प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र – सबैको प्रिय व्यवस्था हुनु पर्दथ्यो । यसमा कहिं कसैको शंका हुन सक्दैन ।

 

प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई बाद विवाद, द्वन्द विग्रह वा विरोध प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषिको रुपमा पनि हेर्नु पर्दछ । सुन्दर शब्द, आकर्षक आर्दशले मात्र प्रजातन्त्र सार्थक हुने होइन। कर्म र व्यवहारमा प्रजातन्त्रलाई उर्ताने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनु पर्दछ । सबैको पहिचान हुनु पर्दछ, सबैको अस्तित्व सुरक्षित हुनु पर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार, आ-आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।

आज देशको इतिहास मेटिदै गएको छ । नेपालको अस्तित्व नासिदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिरहेको छ । जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धरासायी बन्दै छ । हुँदा हुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिदै गएका छन् । नेपालको पद्धति, नीति र गतिविधी ठीक छैन, यहाँ बसेर केही हुँदैन । श्रम, शीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलि रहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।

 

प्रजातन्त्र आशा जगाउने प्रणाली हुनु पर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनु पर्दछ । प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जाग्रत गराउने हुनु पर्दछ, तर तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो ।

 

हाम्रो यो नेपाल देश, भक्त पुर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । त्यत्ति मात्र होइन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो । हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस ।

देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैब हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीहरूलाई आह्वान गर्दछौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

जय नेपाल

२०८१ साल फागुन ७ गते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.